गृह मन्त्रालयले गर्यो एनप्याब्सन निलम्बन, अर्को निर्णय नभएसम्म संगठनका गतिविधि गर्न रोक
निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ५ बमोजिमको निर्देशन उल्लंघन भएको ठहरसहित दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२०८३ कार्तिक १३ शुक्रबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, काठमाडौं । नेपाल सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम जारी गरेको सार्वजनिक सूचनामार्फत एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार एनप्याब्सनले राष्ट्रिय निर्देशन ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको पाइएको छ ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षलाई २०८३ असार २३ गते छलफलका लागि बोलाई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनअनुसार कार्य गरेको नदेखिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।
निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ५ बमोजिमको निर्देशन उल्लंघन भएको ठहरसहित दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा निलम्बनपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।
गृह मन्त्रालयले २०८३ कात्तिक १३ गते पहिलोपटक सार्वजनिक गरेको सूचनामार्फत यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…