सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एनपीएलको फाइनलमा लुम्बिनी लायन्स
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।

२०८३ मंसिर १ मंगलबार, राति ८:३५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्स प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो प्रयासमै फाइनलको यात्रा तय गरेको छ । सुदूरपश्चिमले भने अब दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा श्रीलंकाली ब्याटर निरोशन डिकवेलाले निर्णायक प्रदर्शन गरे । उनले ३७ बलमा अविजित ५९ रन बनाए । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । दिलीप नाथ १२ बलमा १० रन बनाएर अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन बनाए । यी दुईबीच चौथो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।
लिग चरणदेखि नै लुम्बिनीको दबदबा
लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो । उसले ५ खेल जित्दा एक खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।
सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा थियो । यसअघि लिग चरणको पहिलो खेलमै लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । यस जितसँगै जारी सिजनमा लुम्बिनीले सुदूरपश्चिममाथि लगातार दोस्रो जित निकालेको छ ।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
अब लुम्बिनीले नोभेम्बर २१ (मंसिर ५) गते हुने फाइनलमा उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले भने नोभेम्बर १९ (मंसिर ३) गते हुने दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्नेछ । उक्त खेल जिते सुदूरपश्चिमले पनि फाइनलमा लुम्बिनीसँगको भेट पक्का गर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…