धनुषाको सीमानाकामा तस्करको लाइन, सीमा प्रहरीको कमाई आखाडा
उनीहरु रातारात गाडी, मोटरसाईकल र साईकलमा समान ओसार पोसार गर्ने गरेको बताउँछन् ।

२०७७ फागुन १९ बुधबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न सीमानाकामा सीमा प्रहरीहरुले कमाई खाने आखाडा बनाएको छ ।
नेपाल भारत सीमासँग रहेको धनुषाको विभिन्न नाकामा सीमा प्रहरीले तस्करहरुसँग लाइन मिलाएर रकम असुल्दै गरेको छ । सरकारले विभिन्न सीमानाका अझै नखोलेपनि तस्करीमा भने कुनै कमि नआएको देखिएको छ ।
धनुषाको औरही, ईटहर्वा, धनौजी, भडरिया नाकामा सीमा प्रहरीहरुले तस्करसँग लाइन मिलाएको छ । एक तस्करले नाम नखोल्ने शर्तमा भने, “हाम्रो लाइन हुन्छ, लाईन भनेपछि हामीलाई जान दिन्छ । त्यसको लागि हामी समान ओसार पोसारको हिसाबले रकम बुझाउँछौं ।”
भारतसँगको सीमानाका बन्द भएको करिब १ बर्ष भएको छ । तर, सीमानाकामा हुने तस्करी भने दिनानुदिन बढदै गएको छ । नेपाल सरकारको राजस्व छली गरी भारतबाट ल्याउने समानहरु निर्वाध रुपमा तस्कर र बिलौकियाहरुले भित्र्याउँछन् ।
भारतबाट ल्याउने समानको कूल रकमको ३० प्रतिशत बिलौकिया (बिचौलिया) हरु लिने गरेको छ । “हामी ३० प्रतिशत लिन्छौ, प्रहरीले समान समाते हामीले तिर्नुपर्छ, नसमाते ३० प्रतिशत लिन्छौं । त्यसबाट हामीले प्रहरीलाई पनि १० प्रतिशतदेखि १५ प्रतिशतसम्म बुझाउँछौं । त्यो लाइन लिनुपर्छ ।”– नाम नखोल्ने शर्तमा एक बिचौलियाले बताए ।
भडरिया, धनौजी, औरही र ईटहर्बा नाकामा रातीको समयमा तस्करहरु बढी सक्रिय रहेको स्थानीयहरु बताउँछन् । उनीहरु रातारात गाडी, मोटरसाईकल र साईकलमा समान ओसार पोसार गर्ने गरेको बताउँछन् ।
तस्कहरुले लाईन भनेपछि निर्वाध जान दिने तथा आम सर्वसाधारणले घरायसी प्रयोजनको लागि ल्याउने केही समानलाई समातेर समान खोस्ने गरेको एक स्थानीयले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…