राजनीतिक भविष्य कमजोर पार्न पार्टी छोड्ने अपवाह फैलाइँदैछ : यादव
‘जसपा मैले बनाएको घर हो, भोकै भएपनि यसमै बस्छु’

२०७७ माघ २२ बिहीबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य राजकिशोर यादवले आफ्नो राजनीतिक भविष्य कमजोर पार्न हल्ला फैलाइएको बताएका छन् ।
नेता यादवले आफ्नाबारे अपवाह फैलाउन गलत मनसायले केही सञ्चारमाध्यममा सुनियोजित रूपमा समाचार प्रकाशन भएको गुनासो गरेका हुन् ।
उनले आफू जसपा छाडेर नेकपा प्रवेश गर्नेबारे समाचार आएको भन्दै आश्चर्य व्यक्त गरे । सञ्चारमाध्यममा आएका यस्ता समाचारमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका छन् ।
‘मसहित केही नेताहरू नेकपा प्रवेश गर्ने भन्नेबारे समाचार पढ्दा म आफैं अचम्मित भएको छु,’ उनले भने, ‘यो निराधार र कपोलकल्पित समाचार हो, यसमा कुनै सत्यता छैन ।’ यस्ता निराधार र तथ्यहीन हल्ला फैलाउन मधेश विरोधीहरु सक्रिय रहेको पनि उनको दावी छ ।
भ्रमपूर्ण समाचारले आफू र पार्टीलाई कमजोर बनाउने उद्देश्य रहे पनि विचलित नहुने उनले बताए । ‘नेकपामा प्रवेश गर्ने कुरा कसरी आयो, यो मेरो राजनीतिक करियर र पार्टी कमजोर बनाउन फैलाइएको अपवाहबाहेक अरू केही होइन ।’
जसपा बनाउनमा आफूले पसिना बगाएको भन्दै भोकै भएपनि आफ्नो घर छाडेर अरुको घरमा नजाने उनले प्रष्ट पारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…