छोरा मरेपछि नेताहरु घर पसेर धम्काउँछन् : मृतक शम्भुकी आमा
आफूलाई सत्ताको पावर देखाउदै नेताहरु घर पसेर घटना मिलाउन दबाब दिएको पनि आरोप

२०७७ मंसिर २३ मंगलबार, बिहान ८:१९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएका धनुषा सबैलाका शम्भु सदाको आमा सियालीदेवी सदाले छोराको मृत्यूको करिब ६ महिना भएपनि अझै पारिश्रमिक नदिएको पीडा सुनाएकी छन् ।
प्रहरी थुनुवा कक्षमा मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका वडा नम्बर १२ का शम्भु सदाकी आमाले छोराको मृत्यु भएको ५ महिना बितिसक्दा पनि ट्याक्टर धनीले पारिश्रमिक नदिएको गुनासो गरेकी हुन।
ट्याक्टर धनीले छोराको मृत्यु पश्चात पनि उनको पारिश्रमिक बापतको रकम नदिएपछि पीडित परिवारले ट्याक्टर नै आफ्नो नियन्त्रणमा लिएका छन् । सो ट्याक्टरको धनीले छोराको लाइसेन्स र नागरिकता पनि अहिलेसम्म नदिएको बताइएको छ ।
सवारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको थुनाभित्रै २२ वर्षीय सादाको गत जेठ २८ गते शँकास्पद मृत्यु भएको थियो । शम्भु सदा इलाका प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको शव फेला परेपछि परिवारजन तथा स्थानीयले हत्या गरेको भन्दै प्रदर्शन गरेका थिए ।

सो सन्दर्भमा घट्नाको छानबिन गर्न प्रदेश सरकारले छानबिन समिति बनाएपनि राजनीतिक दबाबका कारण छानबिन प्रक्रिया अगाडि बढ्न नसकेको आरोप मृतक सदाकी आमाले लगाएकी हुन् ।
शम्भुले गाउँकै सञ्जय साहको नाममा रहेको प्रदेश २–०२–००१ त्–०२७५ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए । शम्भुले चलाएको उक्त ट्याक्टरको ठक्करबाट जेठ १२ गते धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रा देवी साहको ज्यान गएको थियो ।
शम्भुको मृत्यु पश्चात पनि ट्याक्टर धनी सञ्जयले पारिश्रमिक नदिएको भन्दै उनकी आमा सियालीदेवी सहितका परिवारजनले उक्त ट्याक्टर नियन्त्रणमा लिएका छन् । पटक–पटक माग्दा पनि छोराले काम गरे बापतको रकम नदिएको भन्दै ट्याक्टर नियन्त्रणमा लिएको मृतक शम्भुकी आमाले बताइन् ।
प्रहरी हिरासतमै मृत्यू भएका धनुषा सबैलाका शम्भु सदाको आमाले भने मुुसहर संघको केहिदिन अघि बसेको एक बैठकको क्रममा स्थानीय कारि यादबको नाम हटाएपछि मात्र प्रक्रिया अघि बढाउने दबाब दिइएको बताइएको छ ।
आफूलाई सत्ताको पावर देखाउदै नेताहरु घर पसेर घटना मिलाउन दबाब दिएको पनि आरोप लगाएकी हुन् । सियालिदेबि शम्भु सदाको घटनामा अहिलेसम्म आफूलाई सहयोग गर्ने सबैजना माथि झुठो मुद्दा लगाएर फँसाउने प्रपँच रहेको सुनाइन् ।
मृतक शम्भुकी आमा सियाली देवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवको भाइ कारी यादव, सबैला नगरपालिका २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ६ बस्ने राजकुमार यादव, र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी हुन् ।
आफ्नो घर हुँदै जाँदै गरेको उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको उनले बताइन् । ‘मेरो छोराले उनको ट्याक्टर चलाए बापतको ९ महिनाको पारिश्रमिक दिइएको छैन्,’ शम्भुकी आमाले भनिन्, “पैसा नदिएसम्म यो ट्याक्टरलाई यहीं सडाउँछु ।”
ट्याक्टर धनी साहले भने आफ्नो घरबाट ट्याक्टर लगेका बताए । उनले नौ महिनाको नभई एक महिनाको मात्रै पारिश्रमिक बाँकी रहेको बताए । ‘शम्भुलाई महिनाको १५ हजार मासिक तलब दिँदै आएका थियौं,’ उनले भने, “तर एक महिनाको त्यस बेला दिन बाँकी थियो ।”
उनले आफू रकम दिन तयार हुँदाहुँदै पनि बलजफ्ती रुपमा ट्याक्टर राखिएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…