बाराको माछाले बजार छोपेपछि नेपालमा विदेशी माछा ल्याउनै परेन
बारामा उत्पादित जिउँदो माछा सङ्घीय राजधानी काठमाडौंमा प्रत्येक दिन ६५ देखि ७५ क्विन्टल, पोखरामा १० देखि १५ क्विन्टल बिक्री हुदै आएको

२०७७ कार्तिक २४ सोमबार, बेलुकी ७:४४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । स्वदेशी माछा उत्पादनले विदेशबाट आयात हुने माछालाई पछि पारेको छ। विगतमा भारत, बङ्गलादेश, थाइल्यान्ड, चीन, जापानलगायत देशबाट आउने माछाको आयातलाई निरुत्साहित गर्दै नेपाली माछाले बजारमा आफ्नो एकाधिकार बढाउँदै लगेको छ। यसरी अहिले विदेशी माछाको आयातलाई झन्डै ८५ प्रतिशत घटाएको छ।
देशमा वार्षिक साढे १२ अर्बको स्वदेशी माछा बिक्री हुनेमा बारामा उत्पादित माछाको भूमिका अग्रणी छ। बारामा ६ हजार ८०० हाराहारीमा ठूला साना माछा पोखरीहरूमा माछा उत्पादन हुने गरेको छ। जिल्लाको विभिन्न स्थानमा साढे पैंतीस सय हेक्टर क्षेत्रफलमा पोखरी छन्। जसबाट वार्षिक ३१ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको जिउँदो माछा व्यवसायी सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष जङ्गबहादुर साहले बताएका छन।
बारामा उत्पादित माछा ३ अर्बभन्दा बढीको बिक्री हुने अध्यक्ष साहले बताउनु भयो। बारामा व्यावसायीक रूपमा माछापालन गर्दै आएका कृषकहरूको सङ्ख्या ४ हजार ७०० छ। बाराबाट २०६९ सालमा शुरूआत भएको जिउँदो माछा बिक्री कार्यले अहिले विदेशबाट आयात भइरहेको माछामा अघोषित रोक लागेको अध्यक्ष साहले बताएका छन्।
बारामा उत्पादित जिउँदो माछा सङ्घीय राजधानी काठमाडौंमा प्रत्येक दिन ६५ देखि ७५ क्विन्टल, पोखरामा १० देखि १५ क्विन्टल बिक्री हुदै आएको छ। काठमाडौंमा ५८५ स्थानमा, पोखरामा १८ स्थानमा जिउँदो माछा बिक्री पसल सञ्चालनमा रहेको उनले बताउनु भयो।
जिउँदो माछा ग्राहकको मुख्य रोजाइमा परेको छ। यसको आर्कषण दिन प्रतिदिन बढ्दै गएको उनले बताउनु भयो। स्वदेशी जिउँदो माछाको बिक्री अघि भारतको आन्ध्र प्रदेशको माछा आउने गरेको थियो।
वीरगंज नाकासम्म तीन दिन लाग्ने र त्यसपछि दुई तीन दिन राजधानीलगायत ठाउँमा पुर्यायाउनो समय लाग्ने गरेको थियो। देशभर ८० हजारदेखि ८५ हजार मेट्रिक टन माछा खपत भइरहेको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…