मिर्चैयाको महिला हत्याकाण्ड पेचिलो बन्दै
प्रहरीले अझै सार्वजनिक गरेन पोष्टमार्टम रिपोर्ट, घटना दबाउन खोजिएको आरोप

२०७७ असोज २० मंगलबार, बेलुकी ७:५६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैयामा भएको महिला हत्याकाण्ड पेचिलो बन्दै गएको छ ।
मिर्चैया–६ स्थित आफ्नै घरमा बस्दै आएकी एक महिलाको गएको भाद्र २१ रातीमा भएको हत्या घटना पेचिलो बन्दै गएको हो ।
कल्याणपुर नगरपालिका–१२ बेल्हा घर भई मिर्चैया नगरपालिका–६ मा पनि आफ्नै घरमा बसेकी ३६ वर्षीया रिणादेवी पुर्वेको हत्या भयो । सुत्ने कोठामै घोप्ट्याएर तौलियाले छोपिएको अवस्थामा उनको मृत शरीर भेटिएको थियो ।
मृतकका श्रमान र आफन्तले निरन्तर फोन सम्पर्क गर्न खोजेपनि फोन नलाग्दा मिर्चैयास्थित घर आएर झ्यालबाट हेर्दा उनको शरीर घरमा मृत अवस्थामा भेटिएको थियो । रिणा बसेको भवनमा अगाडि र पछाडी दुबै द्वारमा बाहिरबाटै ताल्चा लागेको थियो ।
प्रहरीको रोहवरमा ताला फुटाएर मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको थियो । तर, पोष्टमार्टम रिपोर्ट प्रहरीले अझै सार्वजनिक गरेको छैन ।
जस्ती करणी गरेर घाँटी थिचेर हत्या गरेको हुन सक्ने परिवारजनको दावी छ । ‘शरीर अर्ध नग्न थियो, लगाएको सुरुवाल र अन्य लुगा कोठामै फालिएको थियो,’ मृतककी आफन्त श्रनारायणले भने, ‘बलात्कारपछि हत्या नै भएको हो ।’
रिणा बसेको भवनमा पाँचवटा कोठा छन् । ‘भाडा लिई बस्नेहरु आ–आफ्नो घर र रिणाको दुई छोरी र एक तीन वर्षीय छोरा चौरचनमा मामा घर सागरपुर गएका थिए,’ श्रीनारायणले भने, ‘घटना भएको दिन रिणा घरमा एक्कलै थिइन् ।’
प्रहरीले घटना दबाउन खोजेको मृततका श्रीमान प्रमोद पुर्वेको आरोप छ । घटनाबारे किटानी जाहेरी दिँदा पनि प्रहरीले असहयोग गर्दै जाहेरी दार्ता गर्नबाट अनाकानी गर्दै आएको उनले बताए । उनी श्रीमतिको हत्यापछि भर्खरै बैदेशिक रोजगारीबाट घर फर्केर आएका छन् ।
सो घटनामा एक जना अहिले प्रहरीको हिरासतमा छ । रिणाको माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ वर्षीय तौकिर आलमलाई अनुसन्धानका लागि प्रहरीले गाउँबाटै भाद्र २४ गते पक्राउ गरेको हो ।
घटनामा तौकिर आलमकै हात रहेको परिवारजनले आरोप लगाउँदै आएको छ ।
तौकिरको संलग्नता नरहेको उनका दाजुको दावी
आफ्नो भाइ तौकिरको घटनामा संलग्नता नरहेको उनका दाजु मेहम्मद तमन्न नदाफको भनाइ छ । ‘फोन गरेकै भरमा हत्या गरेको आरोप लगाउनु र पक्राउ गरेर महिनौ दिन राख्नु न्यायोचित भएन्,’ उनले भने, ‘गाउँले भएको नाताले वर्षौदेखि रिणा मात्र नभई उनको घरका अन्य सदस्यले तौकिर समक्ष आफ्ना कुरा राख्दै आएको थियो ।’
रिणाको हत्या सम्बन्धमा तौकिरको नाम जोड्नु कपोकल्पीत आरोप मात्र भएको उनको दावी छ । सामाजिक रहन–सहन अनुसार परेको बेला मौकामा सघाइदिनेलाई फोन गरेकै भरमा यसरी हत्याको आरोप लगाउनु राम्रो नभएको उनले बताए । उनले हत्यामा संलग्न रहेको दोषीलाई कारवाही हुनुपर्ने तर, निर्दोषलाई फसाउन नहुने धारणा राखे ।
गाउँले सम्बन्ध
रिणा र तौकिर एउटै गाउँको र नजिकै घर रहेका छन् । गाउँले भएको नाताले रिणा र उनका घरका सदस्यहरुले पनि समय समयमा सहयोग माग्दै आएका थिए । तौकिरको भतिज मिर्चैयाको एक स्कूलमा पढ्ने गरेको हुँदा बेला बखतमा सासुरालीबाट पठाएको सरसमान रिणा कहाँ पु¥याइदिने गरेका थिए ।
शंकास्पद एकजना अझै फरार
‘मेरो घर नजिक रहेको एक फार्ममा काम गर्ने एक जना फरार छ,’ रिणाको पारिवारिक श्रोतले भने, ‘उनलाई खोजी गर्दा सम्पर्कमा आउन सकेको छैन ।’ पारिवारिक सदस्य तथा अन्य आफन्तको सहयोगमा रिणाले बैदेशिक रोजगारबाट आएको पैसा व्यवस्थापन गर्दै घर जग्गा किन्ने र पारिवार चलाउँदै आएकी थिइन् । पटक पटक गरी उनको पति प्रमोद पुर्वे २५ वर्ष बैदेशिक रोजगारमा काम गरे ।
अनुसन्धान जारी छ : प्रहरी
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको सिरहाका एसपी उमाशंकर पंजियार बताउँछन् । ‘अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानमा असर पर्ने हुँदा तत्कालै धेरै कुरा बाहिर लग्न मिल्दैन ।’ उनले केही दिनभित्रै सही कुरा बाहिर ल्याएर कारवाही प्रक्रिया अगाडि बढ्ने बताए ।
‘हामी अनुसन्धान गर्दैछौं,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले भने, ‘अहिले कुनै प्रष्ट कुरा बताउन सकिँदैन ।’
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…