ईन्जिनीयर गुप्तासँग १६ करोड ७२ लाख बढीको गैर कानुनी सम्पति भन्दै मुद्दा
उनको श्रीमती मीता गुप्ता समेत १३ जना बिरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर

२०७७ भदौ २५ बिहीबार, दिउँसो ४:३९ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ता सहित १३ जना उपर अकुत सम्पत्ति सम्बन्धी बिगो मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईन्जिनीयर गुप्ता सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँको बिगो माग सहित आरोप पत्र दायर गरिएको छ ।
ईन्जिनीयर काशी प्रसाद गुप्ताले मिति २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६।०३।०५ मा सि.डि.ई. पदबाट अवकाश भएको अवधिसम्म निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु. १६,७२,५६,४९६.८६ बिगो कायम गरी ईन्जिनीयर प्रसाद गुप्ता र उनको श्रीमती मीता गुप्ता समेत १३ जना बिरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।
तत्कालीन सि.डि.ई. काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७।०९।२९ सम्मको वैध आय रू१,११,६९,९६२.६३ आर्जन गरेको तथा सोही अवधिमा गुप्ताले रू. १७,८४,२६,४५९.४९ खर्च तथा लगानी गरेको पुष्टि भएपछि अकुत सम्पति कमाएको खुलेको हो ।
आयोगले गरेको आरोप पत्रमा– “उनले कमाएको वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू. १६,७२,५६,४९६.८६ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएकोले आरोपी काशी प्रसाद गुप्ताको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिँदा निज राष्ट्रसेवक कर्मचारी काशी प्रसाद गुप्तालाई सजाय हुन माग दावी लिइएको र निज काशी प्रसाद गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पति काशी प्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी काशी प्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रही साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियार हुने भ्रष्टाचारजन्य कसुर गरेको देखिँदा निज आरोपी मिता गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो रू. १६,७२,५६,४९६.८६ कायम गरी सजाय हुन मागदावी लिई १३ जना उपर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।” भनिएको छ ।
यसका साथै , आरोपी काशी प्रसाद गुप्ताका आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा। रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ता उपर समेत मुद्दा दायर गरिएको छ ।
उनीहरुको नाममा खाता खोली रू. १०,४४,४३,७८३.९८ रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम उनीहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गर्ने गरी मागदावी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…