नरहाको क्वारेन्टाइनमा चरम लापरवाही, स्वस्थ व्यक्ति पनि हुन थाले बिरामी
क्वारेन्टाइन बसेकाहरु भन्छन् : 'न खाना, न व्यवहार, नत स्वास्थ्य परीक्षण'

२०७७ साउन २७ मंगलबार, बिहान ११:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नरहा गाउँपालिकाका सरोज यादव बैदेशिक रोजगारीको शिलशिलामा दुबई बस्दै आएका थिए । विश्वभर कहर मचाइरहेको कोरोना संक्रमण त्यहाँ पनि बढेपछि उनको रोजगारी खोसियो । कम्पनीले रुममै बस्न भनेपछि केहि महिनासम्म रुममै थन्किएर बसे ।
कोरोना संक्रमण नियन्त्रणमा आएपछि फेरि काम दिने आश्वासन दिएको कम्पनीले केहि दिनसम्म त बसाएर खुवायो । तर, कोरोना संक्रमण अन्त्यको तत्काल कुनै छाँटकाट नदेखिएपछि कम्पनीले अब गाह्रो भयो, धान्न नसकिने भयौं भनेर सुनायो ।
रोजगारदाता कम्पनीले यस्तो भनेपछि कामदारहरुसँग घर फर्कने बाहेक कुनै विकल्प रहेन । उनीसहित त्यो लटमा सयौं कामदार स्वदेश फर्के । काठमाडौंबाट बस चढेर आफ्नो जिल्ला आएपछि सरोजलाई गाउँपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा राखियो ।
दुबईमा उनको पीसीआर रिपोर्ट निगेटिभ आएको थियो । तर, सरकारले बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टाइन बस्न अनिवार्य गरेका कारण उनी बर्छावास्थित जनता बनवाली उमाविको क्वारेन्टाइनमा राखिए । तर, क्वारेन्टाइनभित्र केही दिनअघि मात्र बसेका उनी त्यहाँ दिक्क भएका छन् । बर्छावाको क्वारेन्टाइनमा हाल १४ जना छन् ।
क्वारेन्टाइनमा व्यस्थापन भद्रगोल भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु वाक्कदिक्क बनेका हुन् ।
क्वारेन्टाइनमा हुनुपर्ने आधारभूत आवश्यकताको समेत ख्याल नगरेर तथा व्यवस्थापन पक्षले नहेरेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।
क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्त भएपछि आजित बनेका अर्का एकजना भन्छन्, ‘यहाँ न खानाको ठेगान छ, न व्यवहार छ, नत स्वास्थ्य परीक्षण नै, स्वस्थ मान्छे पनि बिरामी हुन थाल्यौं ।’ अब यस्तो पाराले क्वारेन्टाइनमा बस्न नसक्ने बताउँदै आफ्नो झोला बोकेर घर जान बाध्य हुने उनी सुनाउँछन् ।
समाजमा संक्रमणको जोखिम ननिम्तियोस् भनेर दुःख सहेर पनि यहाँ बसेको उनीहरुको भनाई छ । ‘हामी गइसकेका हुन्थ्यौं, समाजको लागि सोचेर मात्रै हो बसेको,’ सरोज भन्छन्, ‘यहाँ पहिले बसेका र नयाँ आएकालाई एउटै कोठामा भेँडा बाख्रा होले झैं राखिने गरिएको छ, हामी यहाँ झन असुरक्षित छौं ।’
क्वारेन्टाइनमा बस्ने कोठा र सौचालय पनि व्यवस्थित नभएको गुनासो त्यहाँ बसेकाहरुले गरेका छन् । कोठा र सौचालय सरसफाइ नहुँदा झन रोग फैलने त्रासमा बसिरहेको उनीहरु बताउँछन् ।
तर, गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको नाममा हालसम्म ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ खर्च गरेको देखाएको छ । यता, गाउँपालिकाले कोरोनाको नाममा व्यापक अनियमितता गरेको भन्दै स्थानीयहरुले सरोकारबाला निकायसँग छानविनको मागसमेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…