लेबनान बिस्फोट : मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी
शक्तिशाली बिस्फोटले थप संकट पैदा गरेको छ ।

२०७७ साउन २४ शनिबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ ।
बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पैदा गरेको छ ।
मंगलबार राति बेरुतको तटीय क्षेत्र नजिक रहेको गोदाममा राखिएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा कम्तीमा १५४ जनाको ज्यान गएको छ। यस्तै पाँच हजार मानिस घाइते भएका छन् भने तीन लाख मानिस घरबार बिहीन बनेका छन् ।
विश्व खाद्य कार्यक्रमले बेरुतमा भएको बिस्फोटले खाद्य आपूर्तिमा असर गरेको र मूल्य बढेको बताएको छ । विश्व स्वास्थ्य संगठनले बिस्फोटपछि त्यहाँको स्वास्थ्य प्रणाली गम्भीर रुपमा बिग्रिएको उल्लेख गरेको छ । तीनवटा अस्पतालको सेवा रोकिएको छ ।
मंगलबारको बिस्फोट अघि नै ७५ प्रतिशत लेबनानीलाई सहयोगको खाँचो थियो, ३३ प्रतिशतले रोजगार गुमाएका थिए र १० लाख भन्दा बढी मानिस गरिबीको रेखामुनि थिए ।
बिस्फोटपछि अवस्था थप गम्भीर बनेकाले अन्तर्राष्ट्रिय सहयोग तत्काल र पर्याप्त नभएमा त्यहाँ मानवीय संकटको अवस्था आउने संयुक्त राष्ट्रसंघका निकायले बताएका हुन् ।
यसैबीच लेबनानका राष्ट्रपति मिशेल एउनले बिस्फोटको घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धानको माग खारेज गरेका छन् । स्थानीय अधिकारीले नै बिस्फोटको कारण बाहिरबाट गरिएको बम वा अरु कुनै आक्रमण रहे–नरहेको बारे अनुसन्धान गर्ने उनले बताएका छन् ।
यस्तै बिद्रोही समूह हेज्बुल्लाहका नेता हसन नास्रालाहले पनि आफूहरुले बन्दरगाहमा हतियार वा गोलाबारुद भण्डारण नगरेको बताएका छन् ।
लेबनान सरकारका अनुसार विगत ६ वर्षदेखि असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइटका कारण बिस्फोट भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…