सिरहाः निर्माणधिन स्टेडियममा सरकारले बैन गरेको सिमेन्ट प्रयोग, ईन्जिनियरको रिपोर्ट फर्जी !
सो सन्दर्भमा ईन्जिनीयर यादवले व्यस्तता जनाउँदै प्रतिक्रिया दिन मानेनन् ।

२०७७ साउन २० मंगलबार, बिहान ११:१६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लामा एक निर्माणधिन स्टेडियममा प्रतिबन्धित एवम् गुणस्तरियहीन प्रमाणित सिमेन्ट प्रयोग गरेको पाईएको छ ।
सिरहाको गोलबजार नगरपालिकाको वडा नं. २ स्थित निर्माण हुन लागेको गुरुधाम स्टेडियम निर्माणको क्रममा नेपाल सरकारले बैन (प्रतिबन्ध) गरेको रिलायन्स सिमेन्ट प्रयोग गरेपनि रिपोर्टमा मारुती ओपिसी सिमेन्ट लेखिएको छ ।
स्टेडियम निर्माण योजनाको साईट सुपरभाईजर रितेश साहले त्यहाँ रिद्धिसिद्धि सिमेन्ट प्रयोग गरिएको स्वीकार गर्दै मारुती सिमेन्ट प्रयोगबारे आफूलाई केही थाहा नभएको बताए । उनले एक विशेष कामको कारण विदामा बसेको बेला के के भयो आफूलाई केही थाहा नभएको बताए ।
“सुरुमा रिलायन्स सिमेन्ट प्रयोग गरिएको थियो । पछि म आएर यसलाई हटाउन लगाए र रिद्धिसिद्धि सिमेन्ट प्रयोग गर्न लगाए ।”– सुपरभाईजर साहले भने, मारुती सिमेन्टको प्रयोग गरिएको छैन, तर रिपोर्टमा कसरी मारुती लेखाएर ल्यायो त्यो बारे अनभिज्ञता प्रकट गरे ।

कुल ७१ लाख रुपैयाँको बजेटमा बन्न लागेको सो खेलग्राम स्थितको गुरुधाम स्टेडियममा ईन्जिनीयर (प्राविधिक) सँतोष यादव गुणस्तरिहिन समाग्री, कमसल समाग्री प्रयोग गर्न लगाएको स्थानीय एक जनाले नाम नखोल्ने शर्तमा बताए ।
संघीय सरकारको ५० लाख रुपैयाँ, स्थानीय सरकार (गोलबजार नगरपालिका) को १५ लाख रुपैयाँ तथा जनश्रमदानको ८ लाग गरी कुल ७१ लाख २९ हजार रुपैयाँको बजेट स्टेडियमको लागि विनियोजन गरिएको छ ।
स्टेडियममा गुणस्तरिहिन वस्तु प्रयोग बारे गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले आफू पनि पटक पटक अनुगमन गर्दा कमसल वस्तु प्रयोग नगरेको देखिएको बताए । उनले रिलायन्स सिमेन्ट प्रयोग बारे प्राविधिकसँग बुझेर मात्र भन्ने बताए ।

यता, गोल बजार नगरपालिकाका कार्यकारी अधिकृत श्रीधर केसीले प्राविधिकले तयार पारेर दिएको रिपोर्ट र फाईल अनुसार नै भुक्तानी दिएको बताए । उनले आफू पनि अनुगमनमा गएको र गुणस्तरियहिन रिलायन्स सिमेन्ट प्रयोग गरेको बारे थाहा नभएको बताए ।
उनले स्टेडियम निर्माणको क्रममा रिद्धिसिद्धि र मारुती सिमेन्ट प्रयोग गरिएको भनेर रिपोर्टमा देखाएको प्रतिक्रिया दिए । काम उपभोक्ता समिति र ठेकेदारीमा समेत भएको बताउँदै उनले कमलस वस्तु प्रयोग भएको पाइए प्राविधिकलाई कारवाही हुने पनि जनाए ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने रिलायन्स सिमेन्टको इजाजत अनुमति पत्र (लाईसेन्स) रद्द गरिदिएको छ ।

विभागले बारामा रहेको रिलायन्स सिमेन्ट इजाजत पत्र रद्द भएको अवस्थामा पनि बजारमा भेटिएको हुँदा नेपाल गुणस्तर चिन्ह नियमावली २०४० को नियम १६ अनुसार इजाजत अनुमति रद्द गरेपनि स्टेडियममा अति कमलस र गुणस्तरियहिन एवम् सस्तो मानिने रिलायन्स सिमेन्ट प्रयोग गरिदिएपछि स्टेडियमको आयूको बारेमा चिन्ता व्यक्त गरिएको छ ।
स्टेडियमा रिलायन्स सिमेन्ट प्रयोग गरिएपनि ल्याब टेष्टको क्रममा मारुती ओपिसी सिमेन्ट भनेर रिपोर्ट देखाएको छ । उपभोक्ता समितिहरुले नै रिपोर्ट बनाएर दिएको बताएपनि उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर मगरले रिपोर्ट आफूहरु नबनाएको बताएका छन् ।
उनले स्टेडियम निर्माणको क्रममा रिलायन्स सिमेन्ट र शिवम सिमेन्ट प्रयोग गरिएको बताएका छन् । रिपोर्टमा मारुती लेखिएको बारे उनले ईन्जिनीयर सँतोष यादव आफैं आएर सबै रिपोर्ट बनाएको बताए ।
सो सन्दर्भमा ईन्जिनीयर यादवले व्यस्तता जनाउँदै प्रतिक्रिया दिन मानेनन् ।
स्टेडियम निर्माणको क्रममा कमसल सिमेन्ट तथा समाग्रीहरु प्रयोग गरिएको प्रमाण जुटाएको भन्दै एक स्थानीयले यसबारे अख्तियारसम्म जाने बताएका छन् । नाम नखोल्ने शर्तमा उनले यो प्रकरणमा मेयर, वडाध्यक्ष, ईन्जिनीयर, प्राविधिक सबैको मिलोमत्तो रहेको आरोप लगाएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…