प्रदेश नं. २ : वडाध्यक्षलाई जेल
उनको हत्यालगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो । वडाध्यक्ष महतो नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

२०७७ साउन ४ आइतबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ ।
बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा गत शुक्रबार भएको थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो ।
अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई शुक्रबार अबेर गौर कारागार, रौतहट चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता रामजलको गत असार ७ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्यालगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो । वडाध्यक्ष महतो नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।
बुवाको हत्यापछि रामजलका छोराले वडाध्यक्ष महतो लगायत ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेका अन्य आठ जना भने फरार छन् । प्रायः राजनीतिक किचलो परिरहने निर्वाचन क्षेत्र नं। ४ स्थित रामनगरको घटनापछि सर्लाहीमा नेकपा र काँग्रेसबीच तिक्तता बढ्दैगएको छ ।
काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी सत्ताको आडमा प्रहरी प्रशासनलाई दबाबमा पारी आफ्नो पार्टीका निर्दोष वडाध्यक्षलाई फसाइएको दाबी गरेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…