विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव
दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

२०७७ जेठ २४ शनिबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ ।
नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो ।
यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो ।
दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।
एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…