ज्यानमार्ने उद्योगका फरार अभियुक्त पक्राउ, नगरपालिकाले नाम फेरेर बनाएको थियो कर्मचारी
कुनै पनि मुद्दाका फरार प्रतिवादी सरकारी निकायमा काम गर्न पाउँदैन ।

२०७७ जेठ १९ सोमबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ज्यानमार्ने उद्योगका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
मिर्चैया नगरपालिका–३ घर भई ज्यानमार्ने उद्योगमा तीन वर्षदेखि फरार रहेका २० वर्षीय दिपा भनिने दिप नारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
ज्यानमार्ने उद्योगमा संलग्न रही फरार रहेका उनी हिजो (आइतबार) साँझ एकजना स्थानीय युवकलाई ज्यानै लिने गरी मर्नासन्न कुटपिट गरेर खाल्डोमा फालिदिएको घटनामा पक्राउ परेका हुन् । कुटपिट गरी गम्भीर बनाएर दुर्घटनामा परेको जस्तो देखिने गरी खाल्डोमा फालेर माथिबाट मोटरसाइकल राखिदिएको अवस्थामा युवकलाई स्थानीयले उद्धार गरेका थिए ।
उनको अहिले उपचार भइरहेको छ । सो घटनामा संलग्न रहेको भनी नाम परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि उनी पहिलाको समेत फरार प्रतिवादी रहेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।
दिपाले गत २०७४ साल बैशाख १० गते सोही ठाउँका ४७ वर्षीय राजेन्द्र यादवलाई ज्यान लिने नियतले लाठी, भाला, फर्साले मर्नासन्न कुटपिट गरेका थिए । त्यसयता उनी लुकिछिपी बस्दै आएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताए ।
तर, पछिल्लो समय उनलाई नगरपालिकाले क्वारेन्टाइनका लागि कार्यालय सहयोगी बनाएको थियो । कुनै पनि मुद्दाका फरार प्रतिवादी सरकारी निकायमा काम गर्न पाउँदैन । तर, फरार प्रतिवादी रहेका दिप नारायणलाई नगरपालिकाले दिपेश यादव नाम दिएर कार्यालय सहयोगीको रुपमा खटाएको थियो ।
उनलाई आज जिल्ला अदालत सिरहामा पेश गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…