सिरहामा अस्पतालको लापरवाहीले महिलाको मृत्यु, प्रहरीकै संरक्षणमा शवसहित आफन्त निकालिए
यता, उनको मृत्यु भएपछि शल्यक्रिया गरेकी चिकित्सक भने फरार भएकी छन् ।

२०७७ जेठ १६ शुक्रबार, दिउँसो १:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा अस्पतालको लापरवाहीले एक महिलाको ज्यान गएको छ ।
पूर्वपश्चिम् राजमार्गस्थित धनगढी नजिकै रहेको आरके मेडिसिटीमा चिकित्सकको लापरवाहीले एकजना महिलाको ज्यान गएको हो । अर्नमा गाउँपालिका–४ गौरीपुरकी ४५ वर्षीया दाइलाल देवि कामतिले ज्यान गुमाएकी हुन् ।
सामान्य रक्तश्राव भइरहेकी उनलाई बिहीबार बिहान १० बजे अस्पताल ल्याइएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भन्दै उनको सोही दिन राति १० बजे शल्यक्रिया गरियो ।
शल्यक्रियापछि रगतको अभाव भएको र रगत चढिरहेको भन्दै आफन्तलाई बिरामी भेट्न दिइएन । तर, आज (शुक्रबार) बिहान ६ बजे अचानक उनको मृत्यु भएको जवाफ अस्पतालले आफन्तलाई दिएको छ ।
उनको मृत्यु आज बिहान नभई शल्यक्रियाकै क्रममा राति नै भएको परिवारजनको आरोप छ । ‘सामान्य रक्तश्राव हुँदै थियो, शल्यक्रिया गर्नुपर्ने जस्तो थिएन, तर पनि डाक्टरले भनेपछि हामीले सहमति दिनुपर्यो,’ मृतकका छोरा वीर कुमार कामतिले भने, ‘शल्यक्रियापछि हामीले पटकौं आग्रह गर्दा ममिलाई भेट्न दिएन, आज बिहान एउटा कागजमा सही गर्न अस्पतालका एकजनाले भने, यो केको लागि हो भनेर सोध्दा ममिको मृत्यु भएको र हस्ताक्षर गरेर शव लैजान भन्यो, त्यसपछि छाँगाबाट खसे झैँ भएँ ।’
शल्यक्रियाकै क्रममा आमाको मृत्यु भइसकेकाले फस्ने डरले चिकित्कसले बिहान उपचारको क्रममा मृत्यु भएको भनेर खबर दिएको उनले भक्कानिँदै सुनाए । ‘नियत ठिक भएको भए झुक्याएर हस्ताक्षर गर्न लगाउँदैनथ्यो नि,’ उनले भने । अस्पतालको जवाफ चित्त बुझ्दो नभएको मृतक पक्षको भनाई छ ।
पैसा लुट्नकै लागि सामान्य बिरामीलाई पनि शल्यक्रिया गरेको र लापरवाही गरेर ज्यान लिएको आरोप मृतक पक्षको छ । अस्पताल र चिकित्सककै लापरवाहीका कारणले ज्यान गएको भन्दै शव उठाउन नमानेपछि प्रहरीकै संरक्षणमा जबर्जस्ती हस्ताक्षर गराएर शव लिएर घर पठाएको मृतकका छोरा वीरले बताए ।
यता, उनको मृत्यु भएपछि शल्यक्रिया गरेकी चिकित्सक भने फरार भएकी छन् । मृत्युको खबरपछि डाक्टरलाई भेट्न खोज्दा अस्पातालका कर्मचारीले काठमाडौं निस्किसकेको भनेर जवाफ दिएको मृतकका आफन्तले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…