अमेरिकाद्धारा कोरोनाविरुद्धको खोपका लागि अहिलेसम्मकै ठूलो लगानी
कोरोनाविरुद्ध खोप बनाउन अहिले विश्वका वैज्ञानिकबीच होडबजाी नै चलिरहेको छ ।

२०७७ जेठ १० शनिबार, बिहान ८:०४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकाले यसविरुद्ध खोप विकासमा व्यापकता दिइरहेको छ ।
यसै क्रममा अमेरिकी सरकारले कोरोनाविरुद्ध खोप विकासमा विश्वमै सबैभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकालाई यसका लागि १ अर्ब २० करोड डलर अनुदान उपलब्ध गराउने भएको छ ।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार खोप निर्माणका लागि अनुदान उपलब्ध गराउने सम्झौता गरेको हो ।
जसमा अनुदान दिएबापत खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अमेरिकामा गराउनुपर्ने र यसका लागि कम्तीमा ३० करोड वटा खोप उपलब्ध गराउनुपर्ने सर्त अमेरिकाले राखेको छ ।
यस अर्थमा अनुदान भनिए पनि अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै कम्तीमा ३० करोड खोप बुक गर्ने उद्देश्यले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ ।
अमेरिकाले यसअघि कोरोनाविरुद्ध खोप विकास गर्ने अन्य परियोजनासँग पनि सम्झौता गरिसकेको छ । एस्ट्राजेनेकासँगको सम्झौता चौथो र अहिलेसम्मकै सबैभन्दा ठूलो खोप अनुसन्धान सम्झौता भएको द न्युयोर्क टाइम्सले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…