अमेरिकामा लकडाउन खुकुलो पारियो, राज्यपिच्छे फरक प्रावधान
स्कुल, व्यवसाय, सवारी आवागमन र उद्योग व्यवसाय सुरक्षित तवरले खुला गर्न विस्तृत निर्देशिका जारी गरेको छ ।

२०७७ जेठ ९ शुक्रबार, बिहान ८:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, अमेरिका । कोरोना भाइरसले सर्वाधिक प्रभावित राष्ट्र अमेरिकाका ५० वटै राज्यमा लकडाउन खुकुलो पारिएको छ ।
महामारी सुरू भएयता आंशिक वा पूर्ण रूपले आवागमन र व्यापार बन्द गरेका अमेरिकी राज्यहरूले बुधबारबाट लकडाउन खुकुलो पारेका हुन्।
फरक(फरक परिस्थिति बेहोरेका राज्यका गभर्नरहरूले महामारी सामना गर्न आ(आफ्नै मौलिक तरिका अपनाएका छन्।
सबभन्दा पछिल्लो समय लकडाउन खोल्ने निधोमा पुगेको राज्य कनेक्टिकट हो। यहाँको व्यापार(व्यवसाय बुधबारबाट सुरू भएको छ। राज्यले ‘घरैमा बस्नू’ भन्ने आदेश हटाएको छ। पसल, क्याफे, संग्रहालयदेखि कार्यालयहरूसम्म खोल्न अनुमति दिएको छ।
तर, सबै राज्यको नीति कनेक्टिकटजस्तो लचिलो छैन। नजिकको न्यूजर्सीमा लकडाउन खुले पनि त्यसको दायरा सीमित छ। त्यहाँ अत्यावश्यक खुद्रा पसलहरूलाई सुरक्षा उपाय अपनाएर कारोबार खुला गर्न अनुमति दिइएको छ। केही व्यवसायलाई भत्ताको बन्दोबस्त गरिएको छ।
तर सबै कारोबार खुलेका छैनन्। सार्वजनिक आवागमन खुले पनि सहज भइसकेको छैन।
पूर्वोत्तर तथा पश्चिमी किनार अवस्थित तथा डेमोक्रेटिक पार्टीले अग्रता लिएका मध्य(पश्चिमी राज्यहरू भने फेरि खुला गर्नेतर्फ शिथिल देखिएका छन्। त्यहाँका कतिपय गभर्नरले एक(एक काउन्टीको हिसाब गर्दै कदम बढाइरहेका छन्। राजधानी वासिङ्टन डिसीमा जुन महिनासम्मै घरभित्र बस्नू भनिएको छ।
यसको ठिकविपरीत दक्षिणका कतिपय राज्यले धमाधम खुला गर्न थालेका छन्। जर्जिया राज्यले निश्चित शारीरिक दुरी कायम गर्ने मान्यता यथावत् राख्दै रेस्टुरेन्ट, सैलुन, जिम क्लब र अन्य व्यवसाय खुला गर्न सुरू गरिसकेको छ।
अलास्काले पनि यो साताको अन्त्यसम्म व्यवसाय सञ्चालनमा लगाइएको रोक हटाउने बताएको छ। यहाँका रेस्टुरेन्ट, बार, जिम क्लब र अन्य व्यवसाय पूर्ण क्षमतामा चालू हुने छन्। खेलकूद र मनोरञ्जनका अन्य गतिविधि पनि सुरू हुने छन्।
‘हामीकहाँ अब महामारी सुरूभन्दा पहिलेजस्तै सबथोक खुला हुनेछ,’ अलास्काका गभर्नर माइक डुन्लेभीले भनेका छन्, ‘एकअर्काबीच शारीरिक दुरी राख्न र सार्वजनिक स्थानमा मास्क लगाउने प्रावधानलाई सक्दो निरन्तरता दिन अनुरोध गरेका छौं, तर अनिवार्य बनाएका छैनौं।’
अलास्का राज्यले स्थानीय बासिन्दाका हकमा लकडाउन हटाए पनि अन्यत्रबाट आउने आगन्तुकनिम्ति कडा नियम जारी राख्ने बताएको छ। अन्य राज्यबाट आउनेहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। उनीहरूले बूढापाका जम्मा हुने स्थान लगायत सार्वजनिक स्थलमा घुमफिर गर्न पाउने छैनन्।
कसैले ठूला सभा वा उत्सव मनाउन जनस्वास्थ्य अधिकारीहरूको अनुमति लिनुपर्ने गभर्नर डुन्लेभीले बताए। ’यसरी क्रमिक रूपमा लकडाउन खुकुलो पार्दै जाँदा जनजीवनमा पर्ने असर हेरेर थप निर्णय लिइनेछ,’ उनले भने।
रोग नियन्त्रण तथा प्रतिरोधी केन्द्रले स्कुल, व्यवसाय, सवारी आवागमन र उद्योग व्यवसाय सुरक्षित तवरले खुला गर्न विस्तृत निर्देशिका जारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्दे्शिका एकपटक पन्छाइदिएका थिए।
साठी पृष्ठको उक्त दस्तावेज गत साता फेरि जारी गरिएको हो। स्कुल, रेस्टुरेन्ट तथा बार, केटाकेटी हेरचाह केन्द्र लगायत सञ्चालकहरूका लागि विशेष निर्दे्शिका लागू गरिएको छ ।
लामो समय व्यवसाय ठप्प पार्दा आर्थिक संकटको डर भएकाले कारोबार अघि बढाउँदै भाइरस संक्रमण कसरी कम गर्ने भन्ने निर्देशिकामा उल्लेख छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…