जनकपुरः राहतमा पनि कालोबजारी गर्ने एक जना पक्राउ !
वितरण गरिएका सबैमा राहत समाग्रीको तौल कम थियो ।

२०७६ चैत २५ मंगलबार, बेलुकी ६:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बाँडने राहतमा कालोबजारी आरोपमा एक जना व्यापारीलाई पक्राउ गरिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेको अमृता सप्लायर्सले राहतमा कालोबजारी गरेको भन्दै पक्राउ गरिएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको लागि १५०० पोका राहत प्याकिँग गर्ने जिम्मा पाएका अमृता सप्लयार्सका सँचालक वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।
१० किलो चामल, २ किलो आलू, १ किलो नुन, १ किलो दाल, आधा किलो तेलको राहत पोकाको अर्डर पाएका अमृता सप्लायर्सले सबैमा समान कम गरी दिएको भन्दै पक्राउ गरिएको हो ।
गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले कर्मचारीको टोली सहित समान लोड गर्न पठाएका थिए । प्रशासनको अगाडी नै तौल गर्दा समानहरुमा तौल कम भएपछि पक्राउ गरिएको हो ।
हिजो मात्र गणेशमानचारनाथ नगरपालिकाको बरमझियामा राहत बाँडने क्रममा केही जागरुक युवाहरुले तौल गर्नको लागि भनेका थिए । तौल गरेपछि चालम, दालमा कम्तीमा पनि ३०० ग्राम गरी कमी देखिएको थियो ।
आज (मँगलबार) विहान ११ बजे मेयर यादवले सप्लायर्सका सँचालक साहलाई फोन गरी समानमा कमी भएको जानकारी गराउनुभएको थियो । जानकारी पश्चात पनि पुनः गरिएको प्याकिँगमा समेत समानको तौल कम भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले सँचालक साहलाई रँगेहात पक्राउ गरेको हो । लोड गरिएको समानबाट केही पोका झारेर सबैको रोहबरमा तौल गर्दा तौलमा कमी आएपछि पक्राउ गरिएको हो ।
राहतको लागि १५०० पोका अर्डर गरिएकोमा ९०० पोका वितरण गरिसकेको छ भने मात्र ६०० पोका वितरणको लागि बाँकी रहेको थियो । वितरण गरिएका सबैमा राहत समाग्रीको तौल कम थियो ।
मेयर यादवले चिसापानीमा समेत तौल गर्न लगाउँदा त्यहाँ पनि पोकामा कम भएपछि शंका लागेको थियो । सो क्रममा प्रहरीले सोधपुछ गर्दा स्टोरका कर्मचारीले मिस्टेक गरेको हुन सक्ने प्रतिक्रिया दिएका थिए ।
प्रहरीका अनुसार एउटा मात्र पोकामा नभएर सबै पोकामा ३०० ग्राम, ४०० ग्राम चालम कम प्याक गरिएको थियो । १० किलो चालमको लागि भनिएपनि तौल गर्दा ९ किलो केही ग्राम मात्र भएपछि उनलाई कालोबजारी आरोपमा पक्राउ गरेको हो ।
सँचालक साहलाई अहिले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरी नीरिक्षक पप्पु नायकले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…