नेपालमा ३ दिनयता कसैमा भेटिएन कोरोना, लकडाउन खोल्ने सँकेत
सरकारले देशव्यापी रुपमा गरेको लकडाउन अहिले दोस्रो हप्तामा चल्दैछ ।

२०७६ चैत २० बिहीबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा तीन दिनयता कोरोना भाइरसबाट संक्रमित एउटै रिपोर्ट नआएपछि सरकारले एक किसिमको राहत महशुस गरेको छ ।
अहिलेसम्म कोरोनाबाट संक्रमित पाँच जनामध्ये एक जना निको भैसकेका छन् भने अन्य चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पछिल्ला तीन दिनमा एक जना पनि संक्रमित नथपिएको अवस्थामा सरकारले एक साता हेरेर जनजीवन सामान्य बनाउने सोच बनाउन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गर्दै आएको छ, जसअनुसार तीन दिनयता एक जना पनि संक्रमित भेटिएका छैनन् ।
कोरोना लक्षण देखिएका व्यक्तिहरूको स्वाव परीक्षण गर्दा सोमबार, मंगलबार र बुधबार तीनदिनमा एक जनाको पनि पोजिटिभ रिपोर्ट नआएको मन्त्रालय अन्तर्गतको नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बताए ।
लोहनीका अनुसार विदेशबाट बिरामी अवस्थामा नेपाल फर्केका र यहाँ परीक्षण गर्दा संक्रमित भेटिएका व्यक्तिले अरुलाई सारे कि सारेनन् भन्नेमा मन्त्रालय बढी सजग रहेको छ।
सरकारले देशव्यापी रुपमा गरेको लकडाउन अहिले दोस्रो हप्तामा चल्दैछ ।
संक्रमणको त्रास र सजगता दुवै कारण सर्वसाधारण घरभित्रै बस्न तयार रहेपनि सरकारले भने संक्रमितको संख्या धेरै नबढेको अवस्थामा एक हप्तापछि लकडाउन खोल्ने तयारी गरेको संकेत लोहनीले गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…