कोरोना काल : एकसय ९० मुलुक प्रभावित, १५ हजारबढीको मृत्यु
नेपालमा पनि सोमबार एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि थप त्रास सिर्जना भइदिएको छ ।

२०७६ चैत १० सोमबार, राति ८:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् ।
विश्वभर हालसम्म १५ हजार ४ सय २९ जनाको मृत्यु भएको छ । ३ लाख ५३ हजार ६ सय ९२ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । एकलाख चारसय ४३ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ ।
त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा छ ।
हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेको इटालीमा ७ हजार २४ जना उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ ।
त्यहाँ कोरोनाकै कारण १ हजार ६ सय ८५ व्यक्तिको मृत्यु भइसकेको छ भने २१ हजार ६ सय ३८ जना संक्रमित छन् । स्पेनमा थप ३ सय ७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
संक्रमितको संख्या पनि बढेर २८ हजार ७ सय ६८ पुगेको छ । जर्मनीमा ९४ जनाको मृत्यु भएको छ भने २४ हजार ८ सय ७३ जना संक्रमित छन् । अमेरिकामा ४ सय १९ जनाको मृत्यु भएको छ भने ३३ हजार ५ सय ४६ संक्रमित छन् ।
फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । १६ हजार १८ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ८ हजार ९ सय ६१ जना संक्रमित छन् ।
नेपालमा पनि सोमबार एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि थप त्रास सिर्जना भइदिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…