प्रधानमन्त्री ओली राजीनामा दिँदै ?
उनकै दलका शिर्षनेताहरू उनी विरुद्धको गठबन्धनमा गएपछि ओली संकटमा देखिएका थिए ।

२०७६ फागुन १६ शुक्रबार, राति ९:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । दुई तिहाई बहुमत र आफू नै अध्यक्ष रहेको पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भनेर समाचारहरु बाहिर आएको छ ।
उनले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको नागरिक टाईम्समा समाचार छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा सुविधाजनक पूर्ण बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेसँगै राजिनामा दिने निष्कर्षमा पुगेको स्रोतको दावी रहेको नागरिक टाईम्समा तेजप्रताप सिँहले समाचार लेखेका छन् ।
शुक्रबार ओली इतर समूहको खुमलटारमा बसेको नेकपा शिर्ष नेताको बैठकले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री बाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्तावसम्म गर्ने तयारी रहेको भन्दै त्यो भन्दा अगाडि नै प्रधानमन्त्री पदबाट राजिनामा दिन लागेको समेत स्रोतले दावी गरेको जनाइएको छ ।
पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन अस्वीकार गरेसँगै ओली वर्तमान ओली सरकार संकटमा परेको हो ।
पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै उनकै दलका शिर्षनेताहरू उनी विरुद्धको गठबन्धनमा गएपछि ओली संकटमा देखिएका थिए ।
संकटकालिन अवस्थाको घोषणा वा संसद विघटनको विकल्प भएपनि प्रधानमन्त्री ओलीले उक्त कदम अलोकप्रिय र अनुचित हुने ठहर गर्दै राजिनामाको निष्कर्षमा पुगेको बताइन्छ ।
पार्टीभित्रबाट अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र नेता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पार्टीकै नेताहरूको संलग्नतामा नियोजित रूपमा फसाएर आफूसँग बदला लिएको भन्दै निकटवर्तीहरूसँग दुखेको पोख्ने गरेका छन् ।
खुमलटारको पछिल्लो घटनाक्रम सँगै प्रधानमन्त्री ओलीले आफ्ना निकटवर्तीहरूसँग परामर्श गरिरहेको र आफूसँग राजिनामाको विकल्प मात्रै रहेको भन्दै त्यो भन्दा उपयुक्त कुनै विकल्प भए सुझाउन समेत भनेको स्रोतले दावी गर्यो ।
यो सँगै निकट भविष्यमै बन्ने सरकारको खाका समेत सार्वजनिक भै सकेको छ । अब बन्ने नयाँ सरकारको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने छन् भने राष्ट्रपतिमा झलनाथ खनालको नाम चर्चामा छ ।
प्रचण्ड एकल पार्टी अध्यक्ष बन्ने छन् भने अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्ने छन् ।
अहिलेको राजनीतिक वातावरण वा नेकपाभित्रको समीकरणमा कुनै फेरबदल आएन भने आगामी मंगलबारसम्म प्रधानमन्त्री ओलीको राजिनामा लगभग तय भएको स्रोतको दावी छ ।
त्यो सँगै स्थिर भनिएको वर्तमान ओली नेतृत्वको सरकारको नियति पनि यसअघिका सरकार जस्तै देखिएको छ ।
सन्दर्भ समाग्रीः नागरिक टाईम्स, १६ फाल्गुन २०७६, शुक्रबार २१:०५ : Link : http://www.nagariktimes.com/2020/02/119335
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…