प्रचण्डलाई मधेशसँग लभ होइन, लोभ छ : डा. सिके राउत
‘मधेशमा एकथरी र काठमाडौंमा मधेशवादी नेताहरु अर्को थरि कुरा गरेर मधेशलाई ठग्दै आएका छन् ।’

२०७६ फागुन २ शुक्रबार, बेलुकी ५:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न पार्टीहरुले मधेशलाई सत्ता प्राप्तीको माध्यम बनाएको आरोप लगाएका छन् ।
जनमत पार्टीद्धारा बिहीबार सदरमुकाम सिरहामा आयोजित आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशको निकास र विकासका लागि नभई सत्ता प्राप्तीको लागि मधेशलाई प्रयोग गरिँदै आएको आरोप लगाएका हुन् । उनले अहिलेसम्मका विभिन्न पार्टीले मधेश समस्या भन्दा सत्ता प्राप्तीलाई बढि प्राथमिकता दिएको बताए ।
काँग्रेसका विपी कोइरालादेखि तत्कालिन नेकपा (माओवादी) का प्रचण्डले मधेशलाई दोहन मात्र गरेको उनले दाबी गरे । प्रचण्डलाई मधेशसँग लभ नभई मधेशमाथि लोभ लागेको जिकिर गर्दै उनले भने, ‘लभ भएको भए यहाँको विकास हुन्थ्यो, तर दिनानुदिन मधेश विनासको बाटोमा गइराखेका छन् ।’
काँग्रेस, कम्युनिष्ट मात्र नभई मधेशको नाउँमा राजनीतिक गरेका मधेशवादी पार्टीहरु फोरम र राजपा पनि मधेशलाई सत्ता प्राप्तीकै माध्यम बनाएको आरोप लगाउँदै उनले भने, ‘मधेशमा एकथरी र काठमाडौंमा मधेशवादी नेताहरु अर्को थरि कुरा गरेर मधेशलाई ठग्दै आएका छन् ।’
जनतालाई देखाउन अर्को कुरा गरेर सबै पार्टीका नेताहरु आपसमा मुख मिलानी गर्दै आएको उनले दाबी गरे । देशमा रहेको तीनै तहका सरकार लुट मचाइराखेको उनले दाबी गर्दै भने, ‘आन्दोलनको समयमा सहिद परिवारलाई घोषणा गरेको ५० लाख खोइ ? सहिद परिवारलाई अवसर खोइ ?’ मधेश आन्दोलनमा सहिद भएका परिवारको दैनिकी अवस्था कष्टपूर्ण भएपनि मधेशवादी पार्टीहरु आ–आफ्ना आफन्त, नातेदार, प्रेमी र पत्नीलाई अवसर दिइरहेको उनको दाबी छ ।
अरु पार्टीहरु पद र पैसाको लागि आफैमा गुट, उपगुटको नाउँमा टुटफुट भएको तर जनमत पार्टी जनताको चाहना र माग अनुसार तयार भएको उनले दाबी गरे । ७० वर्षको पुरानो खिया लागेको गुटवादी पार्टी काँग्रेस र पदकै लागि आफैमा फुटा फुट भएको कम्युनिष्ट र मधेशवादी पार्टी राजपा तथा समावादीले मधेश समस्याको निकास दिन शिक्षा संचारको युगमा विभिन्न भर्षणका नयाँ मोवाईल आएर चलाउन सुविधायुक्त भए सरह अरु पार्टी भन्दा जनमत पार्टी नयाँ भर्षण जस्तै भएर आएको उनले दाबी गरे ।
मधेश समस्याको निकास र मधेशको विकासका लागि जनमत पार्टीको विकल्पमा कुनै पार्टी हुन नसक्ने भन्दै समयमा सही बाटोलाई पहिचान गरेर सबैलाई आवद्धता लिन उनले आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…