कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, विश्वलाई यस्तो आग्रह !
भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।

२०७६ माघ २७ सोमबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ ।
गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ ।
योसँगै चीनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् । यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।
अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।
संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे । उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिन पनि भनेका छन् ।
हालसम्म चीनबाहिर हङकङ र फिलिपिन्समा यस भाइरसको संक्रमणबाट मानिसले ज्यान गुमाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…