चिसोले मृत्यू हुनेको सँख्या ४० नाध्यो, पुगेन राहत
शितलहर जारी नै छ भने तापक्रम ५ डिग्रीसम्म झर्ने गरेको देखिएको छ ।

२०७४ पुस २६ बुधबार, बिहान ११:२८ बजे२ मिनेट पढाइ

जनकपुरधाम, २६ पुस । विगत केही दिनदेखि चलेको अति चिसो र शितलहरका कारण प्रदेश नं. २ मा मर्नेको सँख्या ४० नाघेको छ ।
दुई नम्बर प्रदेशको ८ वटै जिल्लामा अहिलेसम्म ४० बढीको मृत्यू भईसकेको स्थानीय प्रशासनले पुष्टि गरेका छन् ।
मध्य तराईमा विगत केही दिनदेखि चलेको शितलहर जारी नै छ भने तापक्रम ५ डिग्रीसम्म झर्ने गरेको देखिएको छ ।
दुई दिनदेखि घाम झुल्कन थालेपनि जाडो कम भएको छैन् । घाम लागेपनि जोडले चल्ने चिसो हावाले जिउ कठ्यांग्रिने गरेको छ ।
दिउँसो केहि बेर घाम रहेपनि राती तापक्रम निकै तल झर्ने गरेको छ । न्युन्तम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडोबाट मृत्यु हुनेको संख्या सप्तरी जिल्लामा २० पुगेको छ ।
बाढीबाट अत्यधिक प्रभावित सप्तरी र रौतहट जिल्लामा जाडोबाट सर्वाधिक मानिसहरुको मृत्यु भएको छ । रौतहट जिल्लामा पछिल्लो ९ दिनमा १२ जनाको मृत्यु भएको छ ।
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लामापनि जाडोबाट मानिसहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अधिकांश बृद्धबृद्धाहरु रहेका छन् । सिरहा र सप्तरीमा १÷१ जना बालकको मृत्यु भएको छ ।
बाढीबाट विस्थापित भएकाहरु घर फर्केपनि वासको राम्रो व्यवस्था हुन नसकेको कारण जाडोबाट बढि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
जाडोमा मानिसहरु मर्न थालेपनि सुरक्षा अधिकारीहरुले जाडोकै मानिसहरुको मृत्यु भएको पुष्टि गर्न चाहेका छैनन् । तर जाडोमा कठ्याग्रिएर मृत्यु हुनेहरुको संख्या बढन थालेपछि सरकारले दुई किसिमको राहत उपलब्ध गराउन थालेको छ ।
पहिलो चरणमा विपन्नहरुलाई न्यानो लुगा, दाउरा वितरण लगायतका उद्धार कार्यहरु सुरु गरिएको छ ।दोस्रो चरणमा बाढि प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १५ हजार घर मर्मतका लागि र १० हजार न्यानो वस्त्रका लागि पुनर्निमाण प्राधिकरणको मार्फत उपलब्ध गराउन थालेको छ ।
सरकारले उपलब्ध गराएको राहत अझै पिडित सम्म पुगेको छैन् ।सप्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रका विपन्नहरुलाई न्यानो लुगा र पेटभरि खाने समस्या देखिएको छ ।
सरकारले सोमवार दाउरा र न्यानो लुगा वितरण गर्न गृह मन्त्रालय मार्फत रकम उपलब्ध गराएको थियो । तर सरकारी अधिकारीहरु प्रभावित क्षेत्रमा पुगेको देखिदैन् । नगर क्षेत्रमा समेत आगोको प्रयाप्त व्यवस्था गरिएको छैन् ।
जाडोको कारण विभिन्न रोगहरु बल्झेर बृद्धबृद्धाहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेको बताईन्छ ।जाडोमा दम, उच्च रक्तचाप लगायतका रोगीहरुलाई बढि समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…