हामी सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौं, ईरान सुध्रोस् : ट्रम्प
ट्रम्पले आफू अमेरिकी राष्ट्रपति रहेसम्म ईरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने दाबी गरे ।

२०७६ पुस २४ बिहीबार, दिउँसो २:४२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाको हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ ।
आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।
मिसाइल आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमणमा अमेरिकी सैनिक मारिएको भन्ने खबरको खण्डन गरेका छन् ।
ट्रम्पले १० मिनेटभन्दा कम समयको भाषणमा ईरान, सैन्य प्रमुख सुलेमानी, परमाणु सम्झौता आदिका बारेमा भनाइ राखे । ट्रम्पले भने, ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।’
‘ईरान युद्धबाट पछि हटिरहेको जस्तो देखिन्छ, जुन पूरै विश्वको लागि राम्रो कुरा हो । अमेरिकाले ईरानमाथि अझै कडा प्रतिबन्ध लगाउँदैछ’, ट्रम्पले थपे । साथै ट्रम्पले आफू अमेरिकी राष्ट्रपति रहेसम्म ईरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने दाबी गरे ।
ट्रम्पले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनसँग आग्रह गर्दै सन् २०१५ मा ईरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन भनेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…