अर्गानिक उत्पादनमा जोड दिनुस्, प्रदेश सरकार साथमा छ : मन्त्री यादव
आधुनिकताको नाममा जंक फूड र फास्ट फूडले मानिसलाई मृत्युको नजिक पुर्याइरहेकोले अर्गानिक खानपिनमा ध्यान दिन उनले आग्रह गरे ।

२०७६ पुस ४ शुक्रबार, बेलुकी ६:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले अर्गानिक उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।
सिरहाको गोलबजारमा शुक्रबार वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल एवं जिल्ला संगठन विस्तार कार्यसमितिको आयोजनामा सुरु भएको ‘भान्सा नै औषधालय’ विषयक दुईदिने सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो सुझाव दिएका हुन् । उनले विषादी तरकारीले मानव जीवनमा ठूलो असर गरिरहेको भन्दै अर्गानिक खेतीतर्फ अग्रसर हुन सुझाव दिए ।
उनले भने, ‘तपाई हामीले बेलैमा विषादी निराकरण गर्न अग्रसर भएनौं भने भविष्यमा यसले ठूलो असर गर्छ । त्यसैले अग्रानिक उत्पादनमै जोड दिऔं ।’ मन्त्री यादवले प्रदेश २ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै कृषकको काँधमा काँध थापेर हिड्ने प्रतिवद्धता जनाए ।
आधुनिकताको नाममा जंक फूड र फास्ट फूडले मानिसलाई मृत्युको नजिक पुर्याइरहेकोले अर्गानिक खानपिनमा ध्यान दिन उनले आग्रह गरे । भान्साबाट निस्केका वस्तु नै विष र अमृत दुबै हुने हुनाले खानालाई स्वस्थकर बनाएर नै जीवन स्वस्थकर हुने उनले बताए । दैनिक जीवनमा प्रयोगमा आउने तथा दैनिक भान्सामा प्रयोग गरिने सामानमा मात्र सुधार गर्न सकेमा निरोगी बन्न सकिने भएकोले त्यसतर्फ जनप्रतिनिधिहरु आगामी दिनमा योजना बनाएर अगाडी बढ्न आवश्यक रहेको उनले औल्याए ।
मन्त्री यादवले भान्सा नै औषधालय भन्ने अभियान हरेक पालिका र वडामा लागु गर्न र घरमा फलफुलका बोट विरुवा रोप्न पनि सुझाव दिए । पर्यावरणीय सुरक्षाको क्षेत्रमा अग्रसरता लिँदै यस क्षेत्रमा अघि बढेको प्रशंसा गर्दै उनले आयोजकलाई धन्यवादसमेत ज्ञापन गरे ।
कार्यक्रममा वक्ताहरुले मानिसमा खानपिनबाट पर्ने प्रत्यक्ष तथा परोक्ष प्रभावका बारेमा चर्चा गरेका थिए । आज (शुक्रबार) देखि सुरु भएको ‘माटो र आमाको स्वास्थ्य सुधार अभियान’बाट ‘भान्सा नै औषधालय’ विषयक अभिमुखीकरण कार्यव्रmममा दैनिक प्रयोगमा आउने खाने कुरालाई कसरी औषधालय बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई सचेतना दिइएको छ ।
कार्यक्रममा मन्त्री यादवसँगै गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साह, धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरी, जिल्लाका विभिन्न स्थानीयतहका प्रतिनिधिसहित सयौंको संख्यामा सर्वसाधारणको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…