धनुषामा मलको कालोबजारी : एक पक्राउ, कालोबजारी गर्नेलाई खोज्दै प्रहरी
बरामद गरिएको मल अनुमानित मुल्य ३ लाख ९१ हजार ६०० बराबरको भएको प्रहरीले जनाएको छ ।

२०७६ मंसिर २७ शुक्रबार, बेलुकी ५:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा मल कालोबजारी गरिरहेका एक पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको धनुषाधाम ३ स्थित धनुषाधाम बजारमा रहेको बिज भण्डारका संचालक संजिव कुमार साह तेलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । धनुषाधाममा रहेको रामबाबु प्रसाद यादवको सफल कृषि भण्डार र संजिव विउ र संजिव बिज भण्डारमा बजार मूल्यभन्दा बढी मूल्य लिएर विक्रि वितरण गरिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले तीनमध्ये एकजनालाई पक्राउ गरेका हुन् ।
युरिया मलको बजार भाउ भन्दा बढी रुपैया लिएर विक्रि वितरण गरिरहेको सूचना पाउनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा तथा ईलाका प्रहरी कार्यालय धनुषाधाम समेतबाट गएको प्रहरी टोलीले छापा हानेका हुन् । धनुषाधाम बजारमा पसल संचालन गरी बस्ने वर्ष ३५ को संजिव कुमार साह तेलीको स्टोरबाट ४८ बोरा ५० किग्रा तौल लेखिएको युरिया मल र मौराहा घर भई हाल धनुषाधाम बजारमा बिउ बिजनको पसल संचालन गरी बस्ने राम बाबु प्रसाद यादवको पसलबाट ५० किग्रा तौल लेखिएको युरिया मल ९५ बोरा, ५० किग्रा तौल लेखिएको डिएपि मल २५ बोरा, ५० किग्रा तौल लेखिएको सल्फेट मल १ बोरा र ५० किग्रा तौल लेखिएको पोटास मल ९ बोरा गरी जम्मा १७८ बोरा मल प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको मल अनुमानित मुल्य ३ लाख ९१ हजार ६०० बराबरको भएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई कालो बजारी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता, फरार रहेका सफल कृषि भण्डार र संजिव विउ भण्डारका संचालकको खोजी कार्य भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…