युएईबाट कान्छो मेयरले भने, - 'यहाँको विकास अवधारणा नगरमा लागू गर्छौ'
उनले वैदेशिक रोजगारी र युवा पलायनलाई रोक्न जटिल भएपनि असम्भव नभएको औल्याए ।
२०७६ मंसिर १७ मंगलबार, दिउँसो १:४८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, युएई । नेपालको कान्छो एवम् शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदनगरको विकासप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
खाडी मूलुक यूएई भ्रमणमा रहेका बेला गैर आवासीय मधेशी संघ, गैर आवासीय नेपाली संघ, शहिदनगरका युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले भ्रमणको अनुभव सुनाउँदै शहिदनगरको विकासको आगामी कार्ययोजनाहरुबारे प्रकाश पारेका थिए । मेयरसँगै युएई गएका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले उनलाई विकासको अवधारणा र बजेट बारे सहयोग गरेका थिए ।
युएईमा कार्यरत शहिदनगर नगरपालिकाका युवाहरु सहित धनुषा र विभिन्न जिल्लाका अगुवा सरोकारबालहरुसँगको अन्तरक्रियामा उनले शहिदनगरको विकासको अवधारणा बारे प्रष्टाएका थिए । युवाहरुको वैदेशिक रोजगारी पलायन बेरोजगारीको मुख्य बुंदा रहेको बताउँदै उनले वैदेशिक रोजगारी र युवा पलायनलाई रोक्न जटिल भएपनि असम्भव नभएको औल्याए ।

सो अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले ३ वर्षको अन्तरालमा शहिदनगरले देखेको र देख्नुपर्ने विभिन्न विकासका सूर्यहरुप्रति गौरवान्ति हुने अवस्था निकटै रहेको औल्याए । उनले यदूकुहाका विद्यार्थी शहिद कामेश्वर कुशेश्वरको नाममा स्मार्ट बस स्टैण्ड र शहिद सूर्यनाथ रानको स्मृतिमा प्रदेशस्तरीय स्टेडियम निर्माणको अवधारणा शहिदनगरवासीको लागि गौरवको कुरा भएको बताए ।
सो अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले कमला बचाउ अभियानको समेत जिकिर गरेका थिए । कमला नदीको कहरले धनुषा र सिरहा जिल्लाको आम नागरिकलाई प्रत्येक वर्ष भोग्नु परेको विपदालाई मध्यनजर गर्दै कमला नदीको दुवै तर्फ ठोस बाँध र डयाम बनाउने सन्दर्भमा समेत चर्चा गरेका थिए । कमला नदीको संरक्षण पछि यहाँका जिल्लाहरुमा सिँचाईको उत्तम व्यवस्था भए स्थानीय किसान र कृषीलाई प्रवद्र्धन गरी नगर विकासमा टेवा पुग्ने बारे थपे ।
एक अर्को प्रसँगमा बोल्दै कान्छो मेयर बरबरियाले युएईमा भ्रमणको बेला देखेको विकासको जुक्ति, समस्या र प्रावधान तथा निदान बारे समेत जानकारी लिएको जनाउँदै यहाँको विकासको अवधारणालाई शहिदनगरमा लागू गर्ने अवस्था आवश्यक परेको बेला लागू गर्ने प्रतिवद्धता जाहेर गरे । उनले भने, - "यहाँको विकासको अवलोकन गर्न पाएको छु, यहाँको पर्यटकीय स्थल, सडक, भवन, बगैँचा र यहाँको जीवनशैलीको बारेमा पनि अवलोकन गर्न पाएको छु, यहाँको जीवनशैली भन्दा पनि सडकबाटो, सरसफाई र सडक नियम कानुनको बारेमा अवलोकन गर्न पाएको छु । त्यसबाट चाहिने जति फिल्टर गरी लागू गर्ने प्रयास सहमति भए गर्नेछु ।"
कार्यक्रममा सहभागीहरुले कान्छो मेयर भनेर सँचारमाध्यम, अनलाईन, फेसबुक, टवीटर, पत्रपत्रिका, रेडियो, टेलिभिजनसम्म मात्र हेर्न र सुन्न पाउँदा आज प्रत्यक्ष भेटघाट भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनीहरुले मेयर बरबरियालाई भेटघाट सहित नगर विकासको अवधारणा र जुक्ति सहित विकासको तीव्रता बारे जिज्ञासा राखेका थिए । सो क्रममा मेयर बरबरियाले सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहिदनगर को नारालाई आत्मसात गर्ने बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…