सिरहा : गापा अध्यक्ष र प्रशासकीय अधिकृतको मिलोमतोमा करोडौको ब्रम्हलुट
सोही गाउँपालिकाका वडा २ का वडाध्यक्ष विद्यान्द साह सुडिले गाउँपालिका प्रमुखले अन्य वडाध्यक्षसँग समेत पार्टीगत व्यवहार गरेको गुनासो गरे ।

२०७६ मंसिर १२ बिहीबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार तथा कमिसनको खेल भइरहेको समाचार दिनप्रतिदिन सार्वजनिक भइरहेको छ ।
प्रत्येक दिन अख्तियारले कुन न कुनै पदाधिकारीलाई घुस सहित रङ्गेहात समातेको तथा मुद्दा चलाइरहेका पनि सार्वजनिक हुने गरेको छ । तैपनि भ्रष्टाचार तथा कमिसनको खेलमा कुनै कमी आएको छैन । झन दिनप्रतिदिन यो क्रम बढी नै रहेको छ ।
सिरहाको एक स्थानीय तहमा पनि करोडौको भ्रष्टाचार भएको आरोप लगाइएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अध्यक्ष रामबल्लभ साह र प्रशासकिय अधिकृत रविन्द्र कुमार महतको मिलोमतोमा करोडौको भ्रष्टाचार भएको आरोप लगाइएको हो ।
सोही गाउँपालिकाका नेपाली कांग्रेसको तर्फबाट पालिका संघर्ष समितिका संयोजक चतुरानन्द ठाकुर सो आरोप लगाएका हुन् । पतारी पोखरीको मर्मत सम्भार तथा घाट निर्माण गर्न एक करोड निकासा गरेपनि ३० लाखको मात्र भएको ठाकुरको दावी छ ।
यस्तै, गाउँपालिकाको भवन बनाउन २१ लाख निकासा भएको पाइएको छ । जसमा कमसल काम गरी ५ लाखको पनि काम नभएको आरोप लगाइएको छ । दुर्गा मन्दिर मर्मत र मुर्ति राख्न १७ लाख ५० हजार बजेट निकासी भएकोमा एकलाखको पनि काम नभएको पाइएको छ ।
गाउँपालिकाले विकासको नाममा ४० करोड निकासी गरेकोमा १० करोडको पनि विकासका काम नभएको उनीहरुको आरोप छ । उपभोक्ता समितिमा पनि आसेपासे र आफ्नो भाई, भतिजोलाई राखेर करोडौको भ्रष्टाचार गरिएको संर्घष समितिको ठहर छ ।
यस्तै, सोही गाउँपालिकाका वडा २ का वडाध्यक्ष विद्यान्द साह सुडिले गाउँपालिकाले अन्य वडाध्यक्षसँग समेत पार्टीगत व्यवहार गरेको आरोप लगाए । उनले मनमौजी रुपमा काम र भ्रष्टाचार गरिरहेको आरोप लगाए । यस सम्बन्धमा गाउँपालिका अध्यक्ष साहसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…