'हेलिकप्टरबाट बालविवाह भएको छैन' : धनुषा प्रहरी
प्रकाशित समाचारहरुलाई खण्डन गर्दै जिप्रका धनुषाले बेहुला र बेहुली दुवैको कानुनी उमेर पुगेको विज्ञप्तिमा उल्लेख गरेको

२०७६ मंसिर ९ सोमबार, बेलुकी ६:०७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ४ बल्हा सघारमा एक किशोरीको बालविवाह भएको भनेर विभिन्न सँचारमाध्यममा समाचार प्रकाशन प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनको बालविवाह नभएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै ईलाका प्रहरी कार्यालय खजुरीको मातहतमा रहेको प्रहरी चौकी बल्हागोठको कार्य क्षेत्र भित्र पर्ने जिल्ला धनुषा कमला नगरपालिका ४ बल्हासघारामा मिति गत मँसिर ७ गते सोही स्थान बस्ने सतार कवारीकी छोरी सबनम खातुन तथा जिल्ला सिरहा सुखीपुर नगरपालिका ५ लर्कन्हा बस्ने मो. समिरुल राईनको छोरा मो. समसाद आलमको विवाह सम्पन्न भएको र त्यो बालविवाह नभएको स्पष्टोक्ति दिएको हो ।

विवाहमा दुलहा पक्षले हेलिकप्टर चार्टर गरी ल्याएको र दुलहा दुलही दुवैको उमेर नेपालको कानून अनुसार विवाह गर्न अयोग्य रहेको कारण बाल विवाह भएकोले सो विवाहलाई रोक लगाउनु पर्नेमा प्रहरीले उल्टै सुरक्षा दिएको भनी विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारहरुलाई खण्डन गर्दै जिप्रका धनुषाले बेहुला र बेहुली दुवैको कानुनी उमेर पुगेको विज्ञप्तिमा उल्लेख गरेको हो ।
दुलहा दुलही दुवैका अभिभावकहरुसंग बुझ्दा दुलही सतार कवारीकी छोरी सबनम खातुनको नाममा कमला नगरपालिका ४ नं. वडा कार्यालयबाट मिति गत २०७५।०३।११ गते जारी भएको जन्म दर्ताको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको जसमा बालिका भनिएकी सवनमको जन्म मिति वि. स. २०५६।०३।१५ गते उल्लेख भएकोले उनको उमेर विवाह भएको दिनमा २० वर्ष ४ महिना २२ दिन पुगेको भन्दै बालविवाह नभएको स्पष्टोक्ति दिएको छ ।
सबनम खातुन (बेहुली) की जन्मदर्ता प्रमाणपत्र त्यस्तै दुलहा मो. समसाद आलमको नाममा परराष्ट्र मन्त्रालय राहदानी विभागबाट ई स ३० मे २०१७ मा जारी भएको पासपोर्टमा निजको जन्म ई. स. २१ नोभेम्बर १९९८ उल्लेख भएकोले उनको पनि उमेर विवाह भएको दिनमा २१ वर्ष २ दिन पुगेको देखिएकोले बालविवाह नभएको र कानुनी उमेर पुगेको बताइएको छ ।
मुलुकी अपराध संहिता २०७४ को भाग २, परिच्छेद ११ को दफा १७३ अनुसार विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा त्यस्तो विवाह स्वतः बदर भई त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रूपैयाँ सम्म जरिवाना हुने कानूनी प्रावधान छ ।
मो. सससाद आलम (बेहुला) को राहदानी
यस सन्दर्भमा प्राप्त कागजातहरुको आधारमा विवाहको दिन दुवै दुल्हा दुलहीको उमेर बीस वर्ष पुगिसकेको देखिएकोले कानूनतः दुवै जना आफ्नो जातीय र धार्मिक परम्परा अनुसार विवाहको लागि योग्य रहेको देखिएको बताइएको छ । धनुषा प्रहरी बाल विबाह रोक्न र त्यस्ता विवाह गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन अत्यन्त संवेदनशील ढंगबाट सदैव प्रयासरत रहेको बताउँदै बाल विवाह जस्तो घृणित र निन्दनीय कार्यमा संलग्न जो सुकैलाई पनि कानूनी कारवाही गर्न फेरी पनि प्रतिबद्धता जाहेर विज्ञप्ति मार्फत गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…