एसियाकै ठुलो 'गढीमाई मेला' सुरु
पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिने

२०७६ मंसिर ८ आइतबार, दिउँसो ४:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । एसियाकै सबभन्दा ठुलो मेला भनिने प्रदेश नं. २ को बाराको गढीमाई मेला विधिवत रुपमा सुरु भएको छ ।
विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन् ।
गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो । यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ । मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारी आउने क्रम शुरु भएको छ । मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताए ।
विश्वमा सबभन्दा बढी पशुबलि दिइने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्न सरोकार पक्षलाई आदेश दिएपछि सो प्रथा रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भएपछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ ।
दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुरमा गरी पाँच प्रवेशद्वार राखिनाका साथै सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।
मेला व्यवस्थित बनाउन कलैया, मझरिया, मधुवनी, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायत गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति कक्ष रहनेछन् । पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट ३ हजारको दरले रकम लिएर कक्ष राख्न दिने गरेको छ ।
गढीमाई मन्दिरमा हुने पशुबलीलाई रोक्न विभिन्न धार्मिक सँस्थाहरुले सरोकारबालासँग माग पनि गरेको छ । पशुबली अन्त्यको लागि माण्डवी, गायत्री परिवार लगायतका धर्म सँस्थाहरुले चर्को माग उठाउँदै आएको छ । निर्दोष पशुको बलि देवीदेवताको नाममा नदिन उक्त सँस्थाहरुले माग उठाउँदै आएको छ ।
देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिनेछ ।
पुनश्च : न्यूज ब्यूरो कुनै पनि यस्ता क्रियाकलाप, प्रथाको सपोर्ट गर्दैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…