जनकपुरमा पहिलोपटक सागको एन्ट्री : कुस्ती प्रतियोगिता गराउँदै
सात देश सम्मिलित प्रतियोगिता जनकपुरमा हुन लागेकोले यो अवसरलाई सदुपयोग समितिका पधाधिकारीहरु युद्दस्तरमा जुटेका छन् ।

२०७६ कार्तिक ३० शनिबार, बेलुकी ५:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पहिलो पटक दक्षिण एशियाली खेलकुद (साग) ले खेलकुद प्रतियोगिता गराउने भएको छ ।
आगामी मंसिर २० गतेदेखि जनकपुरमा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका लागि विभिन्न स्थानहरुमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु तीव्र रुपमा भइरहेका छन् ।
आठौँ सागपछि नेपालमा भइरहेको १३ औँ सागमा काठमाडौँका अतिरिक्त ललितपुर, पोखरा र जनकपुरमा समेत प्रतियोगिता हुने आयोजकले जनाएको छ । नेपालमा भएका साग खेलहरुको इतिहासमा काठमाडौँ उपत्यका बाहिर पहिलोपटक प्रतियोगिता हुन लागेको हो ।
सोही क्रममा कुस्ती खेलकुद प्रतियोगिताका सम्पूर्ण खेल जनकपुरधाममा हुने भएका छन् । जनकपुरमा आउँदो मंसिर २० गतेदेखि २३ गतेसम्म कुस्तीका खेल हुनेछ । कुस्ती खेलको तयारीका लागि धनुषा जिल्ला खेलकुद विकास समितिका पधाधिकारीहरु युद्दस्तरमा जुटेका छन् ।
सात देश सम्मिलित प्रतियोगिता जनकपुरमा हुन लागेकोले यो अवसरलाई सदुपयोग गर्न लागिपरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए । जनकपुरमा कबड्डी र कुस्तीसहित दुई खेलको आयोजना गर्ने तयारी गरेपनि अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषदले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कुस्ती प्रतियोगिता मात्रै गर्न सुझाएको थियोे ।
साग अन्तर्गत हुने कुस्तीका सम्पूर्ण खेलहरु जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा हुनेछन् । यसका लागि कवर्ड हलको मरम्मत तथा सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल, ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत सम्भारलगायतका कार्यहरु तीव्र रुपमा अगाडी बढाइएको उनले बताए ।
धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चौधरीले कबर्ड हललाई प्रतियोगिता लायक बनाउनका लागि कार्य भइसकेको जानकारी दिए । उनले मंसिर १० गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने स्पष्ट पारे । साग प्रतियोगिताले जनकपुरको खेलकुद क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने खेल जगतसँग सम्बन्धित व्यक्तिहरु बताउँछन् ।
सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु कवर्ड हलको अनुगमनका लागि पुगेका थिए । अनुगमन पछि सो हललाई अन्तर्रा्ष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न ५६ लाख खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । ५६ लाखको खाँचो रहेको स्थानमा २० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको अध्यक्ष चौधरीले गुनासो गरे ।
उनले ७ देशका खेलाडीहरु सहभागी हुने यस प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा ठूलै टेवा पुग्ने बताए । उनले यसको तयारीका लागि आवश्यक बजेट उपलब्ध गराउन संघ सरकार स्वयं अनुदार देखिएपछि दुःख लागेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…