अब मधेशका किसानको खातामा १०/१० हजार रुपैयाँ : राज्यमन्त्री यादव
मुख्यमन्त्री कृषि उत्थान अन्तर्गत् किसानहरुलाई बैंकको खाता मार्फत् सो रकम दिइने उनले बताए ।

२०७६ कार्तिक २० बुधबार, बिहान ११:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मधेशका किसानहरुलाई १०–१० हजार रुपैयाँ दिने बताएका छन् ।
प्रदेश नं. २ का किसानहरुलाई कृषिप्रति उजागर एवम् मधेशको कृषिमा क्रान्ती ल्याउने हेतु असल किसान पहिचान गरी उनीहरुले अब बैंक खाता मार्फत् १०–१० हजार रुपैयाँ पाउने बताएका हुन् । न्यूज ब्यूरोको महेन्द्रनगर शाखा भिजिटको क्रममा न्यूज ब्यूरोसँग कुराकानी गर्दै राज्यमन्त्री यादवले प्रत्येक वर्ष हुने रसायनिक मल खाद्यको हाहाकार र समयमै परिपूर्तिको लागि असल किसानलाई पहिचान गरी किसानको बैंक खातामा १० हजार रुपैयाँ पठाउने तयारी गरेको बताए ।
एक प्रश्नको जवाफमा मन्त्री यादवले रसायनिक मलभन्दा पनि प्रांगारिक, अर्गानिक मलको लागि विशेष पहल थालिएको बताए । प्रदेशको विभिन्न ठाउँमा अर्गानिक मलको लागि तीन वटा कम्पनी स्थापनाको लागि पहल थालिएको बताउँदै केही दिनमै कृषि गढ मानिएको ठाउँहरुमा सो कम्पनी मार्फत् मल सहज गर्ने जनाए । मुख्यमन्त्री कृषि उत्थान अन्तर्गत् किसानहरुलाई बैंकको खाता मार्फत् सो रकम दिइने उनले बताए ।
यसका साथै सरकारबाट पाउने अनुदानमा पनि अनियमितता हुँदै आएको तथ्य बाहिर आएकोले त्यसलाई रोक्नको लागि प्रत्येक किसानलाई बैंकमा मात्र खाता मार्फत् रकम पठाउने बताए । उनले भने, ‘किसानका लागि आएको रकम अनियमितता नहोस्, त्यसलाई मध्यनजर गरी खातामा पैसा जानेछ । खातामा पैसा गएपश्चात् मोबाइलमा स्वतः सूचना पाउनेछ ।’
अर्को प्रसंगमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशमा ८ सय १३ वटा सहकारी संस्थालाई प्रदेश सरकारले आवश्यक सुविधा दिने जिकिर गर्दै यी संस्थाहरुलाई तालिम, माछा पालनका लागि पोखरी, माछा उत्पादन सहितको सुविधा दिने बताए । कृषिमा आधुनिकीकरण हेतु विजुलीको पोल सहित खेतमा सिंचाईको उचीत व्यवस्थाको लागि पनि पहल थालिएको जानकारी उनले कुराकानीको क्रममा दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…