रौतहट बमकाण्ड : आलमलाई जन्मकैद हुनसक्ने ?
नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ ।

२०७६ कार्तिक १४ बिहीबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । बम विस्फोटमा भएका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ ।
ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ । उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ को उपदफा २ अनुसार कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरे वा गराए कसुरदारविरुद्ध जन्मकैद हुने व्यवस्था छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ अनुसार कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्ष कैद र एक लाख जरिवाना हुनेछ । यस्तै, आलमविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले विस्फोटक पदार्थसम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा रौतहट–२ बाट कांग्रेस उम्मेदवार बनेका आलमले परिस्थिति आतंकित पारेर चुनाव जित्न भारतबाट प्राविधिक बोलाएर बम बनाउन लगाएका थिए । चुनावको अघिल्लो दिन २७ चैतको साँझ राजपुर फरहदवास्थित शेख इद्रिसको घरमा बम बनाउँदै गर्दा विस्फोट भएर दुई नेपाली युवासहित केही भारतीय घाइते भएका थिए भने केहीको मृत्यु भएको थियो । घाइते र मृतक सबैलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…