जनताको करबाट जनप्रतिनिधिको मस्ती : कर्जन्हा नपाले बाँड्यो सुट किन्न १०-१० हजार
जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्नेमा कर्जन्हा नगरपालिका नै सिरहाको पहिलो स्थानीय तह हो । यही नगरका कैयौँ विपन्न बस्तीमा नागरिकले पिउने पानी पाएका छैनन् ।

२०७६ असोज २ बिहीबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको खुलेको छ ।
जनप्रतिनिधिका लागि टेलरमा तयार पार्न दिइएको सुट जनप्रतिनिधिले नलग्दा सुट तयार पारेको टेलरले समाजिक संजालमै लिलामीमा चढाएपछि यस्तो रहस्य खुलेको हो । सुटको लागि बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन् ।
दसैँसम्म कपडा लिन नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका हुन् । नगरपालिकाले मिर्चैयास्थित गुरुशरण साधुशरण वस्त्रालयबाट कपडा उधारोमा किनेर सिलाउन टेलरमा दिएका थिए ।

कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए । तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत् लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् ।
सबै जनप्रतिनिधिको पोसाकको रकम भने असारमै व्यक्तिगत खातामा निकासा भइसकेको छ । ५९ जनप्रतिनिधि र एक चालकसहित ६० जनाका लागि ६ लाख निकासा भएको हो ।
जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्नेमा कर्जन्हा नगरपालिका नै सिरहाको पहिलो स्थानीय तह हो । यही नगरका कैयौँ विपन्न बस्तीमा नागरिकले पिउने पानी पाएका छैनन् । पत्रकार सुरेन्द्र कामतीले नयाँ पत्रिकामा लेखेको समाचारबाट यो सामाग्री सम्पादन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…