सप्तरीका यी युवक, जसले जागिरको प्रलोभन दिएर यसरी कयौं महिलालाई लुटे !
समाजिक सञ्जाल ईमोबाट नम्बर झिकेर मोबाईलमा सम्पर्क गरी जागिर लगाइदिने प्रलोभन दिदै ठगी र जबरजस्ती करणी गर्दै आएको खुलेको छ ।

२०७६ भदौ १७ मंगलबार, बेलुकी ५:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । जागिर लगाइदिने प्रलोभन दिएर कयौं महिलालाई ठगी र बलात्कार गर्ने सप्तरीका एक युवक फन्दामा परेका छन् ।
सप्तरी प्रहरीले एनजीओ र बैंक लगायतकामा जागिर लगाइदिने प्रलोभन दिदै लाखौंको ठगी तथा बलात्कार गर्ने सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका २९ वर्षीय संजिव खड्का भनिने संतोष कुमार यादवलाई पक्राउ गरेको हो । समाजिक सञ्जाल ईमोबाट नम्बर झिकेर मोबाईलमा सम्पर्क गरी जागिर लगाइदिने प्रलोभन दिदै यादवले ठगी र जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।
गत वैशाख ९ गते सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१ की ३३ वर्षीया स्वास्थानी नेपालीलाई मोवाइलमा फोन गरेर ‘म रोजगार डटकमको म्यानेजर हुँ, हामी कहाँ एनजीओमा जागिर खाने अवसर खुल्ला छ’ भनि लोभ लालच दिएर अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ सितापुर बोलाएर मोवाइल, सुनका गर गहनासहित गरी २ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।
यसैगरी, गत असार २६ गते कञ्चनपुरको पुर्वावास नगरपालिका–१ की १९ वर्षीया मिना बोहरालाई पनि विराटनगर स्थित बैंकमा जागिर लगाई दिन्छु भनेर सितापुर बोलाएर मोवाइल, सुनका गरगहनासहित गरी १ लाख ५६ हजार रुपैयाँ बराबरको सरसमान लुटेको पत्रकार सम्मेलनमा जनाएको छ ।
यस्तै, गत साउन ८ गते पनि बाँकेको नेपालगंज उपमहानगरपालिका–५ की एक युवतीलाई मोवाइल मार्फत नै बैंकमा जागिर लगाईदिने प्रलोभन दिएर सितापुरै बोलाएर मोवाइल र नगद लुटेको पाइएको छ भने युवतीलाई बलात्कार समेत गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार भदौ ११ गते पनि यादवले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की आसा राईलाई जागिरकै प्रलोभनमा पारेर मोवाइल तथा गरगहना गरी २ लाख बराबरको धनमाल लुटेको छ । लुटपाटमा सक्रिय व्यक्तिले सोलुखुम्बुकी विष्णु नेपालीलाई ठगी गर्ने क्रममा सुराकीको आधारमा खटिएको प्रहरीले भदौ १५ गते विराटनगर वडा नम्वर ३ स्थित डेराबाटै यादवलाई पक्राउ गरिएको डिएसपी मिश्रले पत्रकार सम्मेलनमा बताए ।
उनले पीडितहरुले दिएको उजुरीको आधारमा पीडितहरुबाट लुटिएका धनमालसहित यादवलाई पक्राउ गरिएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट यादवले यसअघि पनि विराटनगरमा एक महिलालाई लुटपाट गरी जबरजस्ती करणी गरेको खुलेको जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय भएकोमा हालसम्म यादवले कैद भुक्तान नगरी फरार थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…