यसकारण ४ अबोध सन्तानसहित कोशीमा हामफाल्न बाध्य भइन् सिरहाकी यी महिला !
खातुनका १२ र ७ वर्षीय दुई छोरा तथा २ वर्षीया एक छोरी अझ बेपत्ता छन् भने उनीहरुलाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ असार २२ आइतबार, बिहान ११:२८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । माया र ममताकी खानी मानिने आमा आफ्नो सन्तानलाई हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन् । तर, शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हामफाल्न बाध्य भईन् ।
सिरहाको गोलबजार नगरपालिका–८ गोबिन्दपुरकी ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनुमाननगर कंकालिनी–१ मा पुगेर सप्तकोसीमा हामफालेको खबर सार्वजनिक भएपछि हल्लीखल्ली मच्चियो । घरपक्षले माइत र माइती पक्षले घर खेदेपछि उनी सोच्न नसकिने कुरा रोज्न बाध्य भएको खुलेको छ ।
जानकारी अनुसार, अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा गएकी खातुनलाई माइतीले पनि जबरजस्ती घर पठाएपछि यस्तो गर्न बाध्य भएको बताइएको छ ।
सामाजिक परम्पराअनुसार १४ वर्षअघि सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुरका मो. तैयवसँग खातुनको विवाह भएको थियो । खातुन तीन छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन् ।
श्रीमानले यातना दिएपछि चार सन्तानसहित जनकपुरको वीरेन्द्रबजारस्थित माइत गएकी थिइन् । माइतीको शरण पाउने आशामा माइत पुगेकी उनलाई त्यहा पनि गालीगलौज सुरु भएपछि तनावमा थिइन् । माइती पक्षले छोरीलाई राख्नु नहुने भन्दै घर फर्काएपछि खातुन घर नगई कोशीतर्फ गएको खुलेको छ ।
जनकपुरबाट घर जानुको साटो उनले कोशी ब्यारेजसम्मको टिकट लिइन् । कोशी ब्यारेजमा शुक्रबार दिउँसै ओर्लिएकी उनी दिनभरि डुलिन् । आत्महत्याको उपयुक्त स्थान खोजे पनि दिनभरि मानिसको आवतजावत भइरहेकोले मौका पाइनन् ।
साँझ परेपछि भोकले रुन थालेका छोराछोरीका लागि चोकमा पुगेर नास्ता किनेर ल्याइन् र खुवाइन् । उत्तरको गोलघरतर्फ मानिसको चहलपहल बढी भएकाले उनी नदीको दक्षिणतर्फ आएर बसिन् । रातको समयमा उनले पालैपालो छोराछोरीलाई नदीमा फालेपछि आफू पनि हाम फालिन् ।
नदीको पानीले नै किनारा लाएर बचेका साइँला छोरा पाँच वर्षीय तहसिलले रुँदै प्रहरीलाई दुःखद् यथार्थ सुनाए । घटनास्थल लगेर सल र चप्पल देखाउँदै घटना विवरण सुनाएपछि कोशी ब्यारेजका स्थानीय पसले, व्यापारीले प्रहरीलाई उद्दारका लागि आग्रह गरेको स्थानीय भूपदेव मालीले बताए ।
रातभर खोजी कार्यमा खटिए पनि पानीको वहाव उच्च रहेकाले प्रहरी र स्थानीयवासीले कोही फेला नपारेको अवस्थामा कोसीमा काम गर्ने कन्ट्रक्सनका मजदुरले शनिबार महिलाको उद्धार गरे ।
नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याँङ्गमा गएर अड्किएको अवस्थामा मजदुरले उद्धार गरेका हुन् । उनको साथमा रहेको पर्सबाट नगद नौ हजार, कानको सुनको झुम्का र ब्यारेजसम्म काटिएको बसको टिकट फेला परेको छ ।
फेला परेको मोबाइल काम नलाग्ने भएपछि सिम निकालेर अर्को मोबाइलमा राखेर फोन गर्दा उनका श्रीमान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
खातुनको भारदहस्थित अस्पतालमा उपचार भएको छ । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अहिलेसम्म बेपत्ता छन् ।
सप्तकोशी नदीमा पानीको बहाब उच्च रहेकाले बेपत्ता बालबालिकालाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि उनीहरुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘शुक्रबार राति ९ बजेदेखि नै हामी उपलब्ध साधन श्रोतको परिचालन गरि बेपत्ता रहेका खातुनका तीन सन्तानलाई खोज्ने कार्य जारि राखेका छौं । तर, पानीको बहाव उच्च रहेकाले सफलता मिल्न सकेको छैन ।’
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…