दलित बस्तीको बाटोमा पर्खाल खडा गरेर बाटो नै कब्जा, दलितको बिचल्ली !
उनी भन्छिन्, ‘सायद हामी गरिब, निमुखा हौं त्यही भएर, अब लाग्दैछ यहाँ पैसा नहुनेका लागि न्याय पनि छैन ।’

२०७६ बैशाख १८ बुधबार, राति ८:४० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा पछिल्लो समय भूमाफियाहरुको बिगबिगी देखिएको छ । सरोकारवाला निकायको उदासिन्ताले भूमाफियाहरु जग्गा कब्जा गर्नमा दिनरात त सक्रिय छन् नै, यहाँसम्मकी सार्वजनिक बाटोमा समेत नजर लगाउन छोडेनन् । सिरहाको एक ठाउँमा सार्वजनिक बाटोसमेत कब्जा गरिएको पाइएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीमा करिब ८ वर्षभन्दा बढी समयदेखि प्रयोग गर्दै आएको एक दलित बस्तीको बाटोमै पर्खाल ठड्याएको छ । लामो समयदेखि आवतजावत गरिदै आएको सो दलित बस्तीको बाटोमा एक स्थानीयले आफ्नो जग्गा भएको भन्दै पर्खाल खडा गरिदिएको हो ।
झण्डै ८ वर्ष बढीदेखि प्रयोगमा रहेको सो बाटो भएर १० बढी पासमान घरपरिवार आवजावत गर्दै आएका थिए । तर, अहिले आएर उक्त बाटो छेउको जग्गा धनी लरुवत्ति यादवले आफ्नो जग्गा रहेको भन्दै दलित बस्तीको बाटो नै बन्द गरिदिएको भेटिएको छ ।
आफूहरुसँग पैसा नभएको र निमुखा भएकै कारण हालसम्म न्याय हुन नसकेको स्थानीय समुन्द्री देवि पासमान दुखेसो पख्छिन् ।
लामो समयदेखि आवतजावत गर्दै आइएको बाटोमा पर्खाल ठड्याइएपछि दलित परिवारहरुको बिचल्ली भएको छ । बस्तीबाट बाहिरिनका लागि एउटै बाटोको रुपमा रहेको सो बाटो कब्जा गरिएपछि उनीहरुलाई बाहिर निस्कनसमेत समस्या भएको छ ।
सो दलित बस्तीमा १० बढी घरपरिवारका ५० बढी सदस्य बस्छन् । बाटो नै कब्जा गरिएपछि विगत १ महिना बढीदेखि अरुको दरवाजा (दुरा) भएर आवजावत गर्न बाध्य भएको दलित बस्तीका सोभित पासमान दुखेसो सुनाउँछन् ।
करिब ८ वर्षअघि उनीहरु स्थानीय देवनारायण यादवसँग जग्गा खरिद गरेर बस्ती बसाएका थिए । जग्गा खरिद गरेपछि उनीहरुको आवतजावतका लागि ५ धुर क्षेत्रफलको १० फिट बाटो दिइएको थियो । अहिले उक्त बाटोको जग्गा छिमेकी लरुवत्ति यादवले आफ्नो रहेको भन्दै कब्जा जमाएका छन् ।

हालाकी, गाउँब्लक अन्तर्गतको उक्त बाटोको जग्गा उपर पहिलेदेखि नै विवाद रहेपनि समाजले त्यसलाई बाटोको रुपमा कायम गरेका थिए । बीचबीचमा लरुवत्ति यादवले विवाद गर्न खोजेपछि गाउँमा पञ्चायती डाकेरै बाटोको रुपमा कायम गरिएको थियो । स्थानीय सरकार आएपछि सो बाटोको लागि नगरपालिकाले बजेट दिएर ग्राभेलसमेत गराएको छ । सार्वजनिक बाटोको रुपमा छर्लङ रहेको बाटोमा पर्खाल खडा गरिएपछि आफूहरु निमुखा र दलित भएकै कारण अन्याय गरिएको उनीहरु सुनाउँछन् ।
बाटो घेरिएपछि बस्तीका दलितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी गरेपनि उनीहरु न्याय पाउन सकेका छैनन् । उनीहरुले जिल्ला प्रशासन गुहारेपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बाटो खोलाउन नगरपालिकालाई पत्र काटेका थिए । नगरपालिकाले पत्र प्राप्त गरेपछि कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले स्थलगत निरीक्षण गरेर चाँडै बाटो खोलाउने आश्वासन पनि दिए । तर, चाँसो भने लिएनन् । नगरपालिकाको मौनताका कारण उनीहरुको बिचल्ली भएको छ ।
आफूहरुसँग पैसा नभएको र निमुखा भएकै कारण हालसम्म न्याय हुन नसकेको स्थानीय समुन्द्री देवि पासमान दुखेसो पख्छिन् । उनी भन्छिन्, ‘हामीसँग अन्याय भयो, वर्षौंदेखि हिड्दै आएको बाटो हामी निमुखा भएकै कारण कब्जा गरिएको छ, न्याय माग्न जहाँतहाँ भौतारेपनि कोही चाँसो लिइरहेका छैनन्, सायद हामी गरिब, निमुखा हौं त्यही भएर, अब लाग्दैछ यहाँ पैसा नहुनेका लागि न्याय पनि छैन ।’
सम्बन्धित निकायहरुबाट आश्वासन भने नदिइएको होईन । तर, हालसम्म कहिँकतैबाट चाँसो लिइएको छैन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…