सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा, मागे रेशम चौधरीको रिहाई पनि
सरकार गम्भीर नभए कडा आन्दोलनमा जाने विद्यार्थी संगठनहरुको चेतावनी छ ।

२०७६ बैशाख १७ मंगलबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विभिन्न ११ वटा विद्यार्थी संगठनहरुले नेकपाको सरकारविरुद्ध काठमाडौं तताएका छन् । नेकपाको सरकार भ्रष्ट र अधिनायकवाद भएको भन्दै संयुक्त ११ विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
जनताको हितमा काम गर्नुको साटो दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकार जनताको हित विपरित मनमौजी हिडेको भन्दै विद्यार्थी संगठनहरु सडकमा उत्रेको हो ।
प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म र्यालीसहित चर्को प्रदर्शन गरेका छन् ।
सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा भ्रष्टाचार बढाएको, सरकारले नागरिकको अधिकार खोस्न खोजेको, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगएको उनीहरूको आरोप छ ।
मधेशको माग, थरुहट आन्दोलनको माग, राजनीतिक आन्दोलनमा क्रियाशिल नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको विषयमा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । उनीहरुले जायज राजनीतिक विषयलाई राजनीतिक तवरबाटै समाधान गर्न सरकारलाई खबरदारी समेत गरेको राविसंघका अध्यक्ष चिरञ्जीवि यादवले जनाए ।
थरुहट आन्दोलनका अगुवा रेशम चौधरीलाई रिहा गर्न समेत उनीहरुले माग गरेको छ । सरकार गम्भीर नभए कडा आन्दोलनमा जाने विद्यार्थी संगठनहरुको चेतावनी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…