मिर्चैया : राजनीतिक पूर्वाग्रहले बजेटमा भेदभाव, चन्दा लगाएर विकास
विकास निर्माणका काममा पनि आफूहरुलाई राजनीतिक हिसावले हेरको उनीहरुको आरोप छ ।

२०७५ चैत २५ सोमबार, बेलुकी ६:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले राजनीतिक पूर्वाग्रहका कारण प्रयाप्त बजेट नदिएपछि स्थानीयहरुले निजी लगानीमै विकास निर्माणका काम थालेका छन् ।
नगरपालिका नेतृत्वले राजनीतिक प्रतिशोध साँध्न बजेटमा भेदभाव गरेको भन्दै वडा १ का बासिन्दाहरुले चन्दा नै लगाएर विकास निर्माणका काम गरेका हुन् । मिर्चैया नगरपालिका वडा नं. १ रामपुरविर्ता कमिया टोलका स्थानीयहरुले निजी लगानीमै सोमबार सडकका खाल्डाखुल्डी पुरेका छन् ।

विकास निर्माणका काममा पनि आफूहरुलाई राजनीतिक हिसावले हेरको र आवश्यक एवं प्रयाप्त बजेट नगरपालिका तथा वडाले नदिएको उनीहरुको आरोप छ । उनीहरुले जनप्रतिनिधिले आफूहरुलाई कुनै वास्ता नै नगरेको र विकास निर्माणमा हेपाहा तवरले हरेको आरोप लगाएका छन् ।
राजनीतिक प्रतिशोधका कारण विकास निर्माणमा समेत हेपिएपछि उक्त टोलका बासिन्दाहरु अन्तै बसाई सर्न थालेको स्थानीय रामकृपाल साह बताउँछन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष हुन लाग्दा पनि वडा १ को त्यस टोलमा भने १ सूकोको समेत विकास नभएको पाइएको छ । विकास निर्माणमा समेत जनप्रतिनिधिले उपेक्षित गरेको तथा विकासका लागि प्रयाप्त रकम नदिएपछि उनीहरुले दिइएको बजेट फिर्ता गरिदिएको सुनाए ।
गत आर्थिक वर्ष २०७४/७५ मा त्यस टोलको लागि १ लाख २५ हजार रुपैयाँ छुट्याइएपछि उनीहरुले अस्विकार गरेका थिए । झिनो रकम भएको र त्यत्तिले कुनै काम नै पूर्ण रुपले हुन नसक्ने देखिएपछि बजेट अस्विकार गरेको स्थानीय अगुवा तथा तरुण दल सिरहा ४ का सभापति धनेश्वर यादवले बताए । उनले भने, ‘आफ्नो मान्छे, आसेपासेलाई प्राथमिकतामा राखिएको छ, हामीलाई भने राजनीतिक प्रतिसोधका कारण विकास निर्माणमा समेत बेवास्ता गरिएको छ, हामीलाई नामको लागि मात्र बजेट, कुनै काम नै हुन नसक्ने, कुनै कामै हुन नसक्ने बजेट लिएर के गर्नु, के हामी यो नगरको बासिन्दा होईनांै, हामीले कर तिरेका छैनौं ?’ यस आर्थिक वर्षको बजेटबारे आफूहरुलाई हालसम्म जानकारी समेत नगराएको उनले बताए ।
साबिकको रामपुरविर्ता गाविसको वडा ३ मा पर्ने कमिया टोलसहित गाविस अन्तर्गत रहेको ९ वटै वडालाई मिर्चैया नगरपालिकाको वडा १ मा गाभिएको हो । विकास निर्माणको कामका लागि आएको बजेटबाट नौ भाग गरी एक भाग रकम हरेक टोललाई दिनुपर्नेमा त्यसो नभई भेदभाव तवरले बजेट दिएको उनीहरुको आरोप छ । उनीहरुले नगर विकास कोषबाट समेत विकासका लागि १ रुपैयाँ पनि नदिएको गुनासो पोखे ।

जनप्रतिनिधिले बजेटबारे कुनै खोजपुछार नै नगरेको र मनमौजी तवरले हिडेको स्थानीय यूवा सँतोष यादवले आरोप लगाए । जनप्रतिनिधि आएपनि उक्त टोलका बासिन्दालाई हालसम्म अनुभूति नै हुन नसकेको स्थानीय बिजय यादवको दुखेसो छ ।
राजनीतिक प्रतिशोधका कारण विकास निर्माणमा समेत हेपिएपछि उक्त टोलका बासिन्दाहरु अन्तै बसाई सर्न थालेको स्थानीय रामकृपाल साह बताउँछन् । करिब सयबढी घरपरिवार बसोवास गर्दै आएको उक्त बस्तीमा ४ सयबढी मतदाता छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…