मिर्चैया : पोखरीमा विष हालिदिँदा १० लाखबढीको माछा मरे
स्वदेशमै कर्म र मेहनत गर्न चाहनेलाई मनोवल गिराउन खोज्ने उपर कडा कारवाही गर्न माग ।

२०७५ फागुन ४ शनिबार, दिउँसो २:२३ बजे१ मिनेट पढाइ

सिरहा, ४ फागुन । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरीस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब १० लाख मूल्य बराबरको माछा मरेको छ । मल्हनियाँ खोरीस्थित चौध कठ्ठा क्षेत्रफलमा रहेको निमावि पोखरीमा गएराति करिब १२ बजेको समयमा अज्ञात समूहले विष राखिदिएपछि विभिन्न ७ प्रजातिका तयारी अवस्थामा रहेका माछा मरेपछि ठूलो क्षत्ति पुगेको हो ।
मिर्चैया १ का माछा व्यवसायी शिव नारायण श्रेष्ठले पोखरी ठेक्का लिएर सञ्चालन गरेको माछा पालनमा राखिएका रौ, कोमन, नैनी, सिल्वर, विगट, ग्राँस र पोठीलगायतका प्रजातिको माछा मरेको मिर्चैया नगरपालिका वडा नं. २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरले जानकारी दिए ।
डाहा वा व्यक्तिगत रिसइवीका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका छ । मिर्चैया नगरपालिकाको मातहतमा रहेको उक्त पोखरी माछा व्यवसायी श्रेष्ठले तीन वर्षको ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए । माछा पालन सञ्चालन गरिएको एकवर्ष नबित्दै यस्तो घटना भएको हो ।
स्वदेशमै कर्म र मेहनत गर्न चाहनेलाई मनोवल गिराउन खोज्ने उपर अनुसन्धान गरी कडा कारवाही गर्न वडाध्यक्ष कापरले माग गरेको छ ।
घटना भएको जानकारी पाएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले अपराधि पत्ता लगाई दोषीलाई नछाडिने बताए । यस घटना उपर प्रहरीको अनुसन्धान जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…