भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की !
राष्ट्रिय सभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती

२०७५ माघ १८ शुक्रबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

काराकास, १८ माघ । भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् ।
गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उहाँकी श्रीमतीसँग सोधीखोजी गरेको बताइएको छ ।
गुइएदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला प्रहरी टोलीले उनकी श्रीमती फावियाना रोजालेससँग सोधीखोजी गरेको हो । राष्ट्रिय सभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
युरोपेली देशका सांसदहरुले यसअघि नै गुइएदोलाई देशको कार्यबाहक प्रमुखको मान्यता दिँदै अगाडि बढ्न भनेका थिए । चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् ।
विदेशी समुदायको समर्थन रहेकाले राष्ट्रपति मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ ।
लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…