हड्पिएको दलित बस्तीका लागि अझ भएन कुनै पहल, दलित परिवार बिचल्लीमा
गरिब, निमुखा र त्यसमा पनि दलित भएकै कारण हालसम्म पहल हुन नसकेको ।

२०७५ पुस २३ सोमबार, दिउँसो १:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीका पीडितहरुले सम्बन्धित निकायहरुसँग लगातार गुहार लगाएपनि हालसम्म कहिँकतैबाट पहल थालिएको छैन ।
नक्कली कागजात बनाएर हड्पिएको दलित बस्तीको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सम्बन्धित निकायहरुमा थोरै चाँसो देखिएपनि अहिले भने साम्य भएको देखिएको छ ।
निरन्तर गुहार लगाइरहेपनि कुनै चाँसो नदेखिएपछि आफूहरु गरिब, निमुखा र त्यसमा पनि दलित भएकै कारण हालसम्म पहल हुन नसकेको उनीहरुले दुखेसो पोखेका छन् । सम्बन्धित निकायहरूको आश्वासन मात्रै आश्वासनमै सिमित भएपछि बस्तीका दलितहरु खिन्नता प्रकट गरेका छन् ।
न्यूज ब्यूरोको फ्लोअपमा एकजना पीडितले भने, ‘हामिले अघिदेखि नै सबैलाई गुहार लगाउँदै आएका छौं, हामि निमुखाको आवाज कसैले नसुनिदिएपछि मिडियासँग गुहार गर्यौं, तर केहि मिडियाले पनि आवाज दबाउन खाजेको छ, खै किन होला ? केहि मिडियामा समाचार आएपछि पहल थालिएको आश्वासन पाएँ, हामि खुशी भएका थियौं, तर खै किन हो किन अहिलेसम्म केहि हुन सकेको छैन, सबैले मात्र आश्वासन दिन्छन्, गरिब, दलित भएकै कारण हामिलाई कोही वास्ता गरिरहेको छैन सायद, अहिले हामिलाई जग्गा नै खालि गर्न दबाब आइरहेको छ, हामि अन्याय सहेर कहिलेसम्म बसौं ? के हामि दलित, गरिब, निमुखासँग न्याय हुँदैन ?’
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका मिर्चैया ९ रमपुरा महरा टोलका सिँगो दलित बस्ती नै स्थानीय कमल भन्ने भरत यादवले कब्जा गरेका छन् । १५ बढी घरपरिवार बसोबास गर्दै आएका दलित बस्तीका ७ कठ्ठा १० धुर जमिन किर्ते (नक्कली) कागजात बनाएर हड्पेका हुन् ।
बस्तीका दलितहरुलाई अहिले रकम तिरेर नामसारी गराउन र रकम नतिरे बस्ती नै खाली गर्न दबाब दिँदै आइरहेको छ । उनीहरुले २०२४ सालमा नै जग्गाको पैसा तिरेर जग्गा किनेपनि आजभोलि गर्दागर्दै जग्गा धनीको मृत्यू भएपछि जग्गा पास भएको छैन ।
पछि उनीहरु कानुन सम्बत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराई सकेका छन् । जग्गा धनीको करिब ४० वर्षअघि नै मृत्यू भइसकेको भएपनि मात्रै २०७० सालमा सिधै जग्गा धनीको नामबाट कमल भन्ने भरत यादवको नाममा जग्गा पास भएको हो । अहिले उक्त जग्गा उनले आफ्नो फुपूको छोरा रामपरिक्षण यादवको नाम पास गरिदिएका छन् ।
सिँगो बस्ती नै हड्पेका कमल यादवले अहिले उनीहरूलाई बस्ती खाली गर्न दबाब बनाएपछि उनीहरू बिचल्ली तथा त्रासमा परेका छन् । न्यायको आशा बोकेर उनीहरु अहिले विभिन्न सरकारी निकायहरूसँग गुहार लगाइरहेका छन् ।
सम्बन्धित निकायहरुबाट आश्वासन भने नदिइएको होईन । तर, हालसम्म कहिँकतैबाट पहल हुन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…