किर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब !
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाएर सिँगो दलित बस्ती नै कब्जा गरेको पाइएको छ । जग्गा धनीको मृत्यू भइसकेपछि स्थानीय कमल भन्ने भरत यादवले किर्ते कागजात बनाएर सिँगो बस्ती नै आफ्नो नाममा नामसारी गराएको पाइएको हो । जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९०

२०७५ पुस ११ बुधबार, दिउँसो ४:४१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाएर सिँगो दलित बस्ती नै कब्जा गरेको पाइएको छ । जग्गा धनीको मृत्यू भइसकेपछि स्थानीय कमल भन्ने भरत यादवले किर्ते कागजात बनाएर सिँगो बस्ती नै आफ्नो नाममा नामसारी गराएको पाइएको हो ।
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका रमपुरा महरा टोलका दलितहरुलाई अहिले बस्ती खाली गर्न दबाब दिँदै आएका छन् । जग्गाको पैसा तिरेर नामसारी गराउन भन्दै आएको र पैसा नतिरे बस्ती नै खाली गर्न दबाब बनाएको उनीहरुले दुखेसो पोखेका छन् ।
सिँगो बस्ती नै हड्पेका कमल यादवले उनीहरूलाई बस्ती खाली गर्न दबाब दिएपछि बिचल्ली तथा त्रासमा रहेका उनीहरू अहिले विभिन्न सरकारी निकाय धाइरहेका छन् ।
स्थानीयहरुले जग्गा धनी सिरहा–८ का मन्सुर मियाँकी आमा रासो धुनियायीनसँग बि. स. २०२४ सालमा नै आफूहरूको हजुरबुवाले जग्गाको पैसा तिरेर खरिद गरेको बताउँछन् । जग्गा धनीलाई पैसा तिरेपनि कार्यव्यस्तताले तत्कालै जग्गा पास भएन । आजभोलि गर्दागर्दै जग्गा धनी मन्सुरको बिरामी परेर कमै उमेरमा मृत्यू भयो । त्यसपछि उनका आमा बुवापनि बिते । उनीहरुको अंश खाने समेत कोही नभएका कारण जग्गा पास हुने आधार रहेन । पछि उनीहरु कानुन सम्बत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराएको पीडितहरुले बताए ।
अहिले उक्त जग्गा उनले आफ्नो फुपूको छोरा रामपरिक्षण यादवको नाम पास गरिदिएका छन् । कित्ता नम्बर १८ को ७ कठ्ठा १० धुर क्षेत्रफल रहेको उक्त जग्गामा करिब १५ बढी घरपरिवार बसोबास गर्दै आएका छन् ।
न्यायको आशा बोकेर सरकारी न्यायालय गुहारिरहेका उनीहरू उपर भने यस निकायहरुबाट समेत कुनै चाँसो देखिएको छैन ।
आफ्नो हजुरबाले नै पैसा तिरेको भएपनि साहुले जमिन पास नगरेपछि तीन पुस्तादेखि आफूहरु बस्दै आएको जमिन अरुले पास गरेको खबरले चिन्तित बनेको उनीहरू दुखेसो पोख्छन् । स्थानीय ४६ वर्षीय रामेश्वर महरा सुनाउँछन्, ‘साहूलाई हाम्रो हजुरबाले जग्गाको मूल्य तिरेपनि उहाँले तिमिहरुलाई बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला भन्दाभन्दै उहाँहरु बित्नु भो, हामिले जग्गा किनेर बस्दै आएका छौं, नभए त्यत्तिकै कसले यतिदिनसम्म बस्न दिन्छ र ? अहिले कसैले नक्कली कागजात बनाई जग्गा पास गराएर हामिलाई जग्गा खाली गर्न भन्दैछ ।’ अर्का स्थानीय ६१ वर्षीय बिन्देश्वर महरा अगाडि भक्कानिदै थपे, ‘हामिसँग अन्याय भएको छ, जग्गा खाली गर्न भनेदेखि सारा भोक प्यासै हराएको छ, दलित, निमुखा हामि कहिलेसम्म अत्याचार सहेर बसौं ? हामिसँग न्याय हुँदैन ?’
उनीहरूले केही फर्जी कागजात समेत संकलन गरेका छन् भने हाल उक्त जग्गा रोक्का गराएका छन् । मालपोत कर्मचारीको मिलेमतोमा जग्गा पास गरिएको भन्दै स्थानीयले दोषीहरुलाई कारवाहीको माग गरिरहेका छन् ।
पीडितहरुले नगर कार्यपालिकामा निवेदन दिँदा खासै वास्ता नभएपछि यस जग्गा उपर जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेका छन् भने जिल्ला प्रशासन सिरहा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी दिएका छन् । न्यायको आशा बोकेर सरकारी न्यायालय गुहारिरहेका उनीहरू उपर भने यस निकायहरुबाट समेत कुनै चाँसो देखिएको छैन ।
यता, कमल यादवले आफूले रुपैयाँ तिरेर जमीन किनेको दावी गरे । ‘उनीहरूको उहिले नै मृत्यू भइसकेको हो, जग्गा पास चाहिँ मात्र २०७० सालमा सिधै जग्गा धनीको नामबाट तपाईको नाममा भएको छ, फेरी यो सम्भव कसरी ?’ भन्ने प्रश्नमा उनले आफूले पहिले नै पैसा दिइसकेको र पछि नामसारी गराएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…