मिर्चैयाः नगरपालिका नजिकैको बस्तीको बिजोग, पोखरीको फोहोर पानी घरमा पस्यो
नगरपालिकाले केहि वर्ष पहिले नाला निर्माणका लागि लाखौं खर्चिएपनि हालसम्म भने निर्माण हुन सकेको छैन ।

२०७५ भदौ १८ सोमबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १८ भदौ । सिरहाको मिर्चैया नगरपालिकाको कार्यालय नजिकै वडा नं. ५ मा अवस्थित पोखरीको फोहोर पानी स्थानीयहरुको घरमा पसेको छ । मिर्चैयाको गुदरी बजार नजिकै रहेको पोखरीमा वर्षाका बेला बजार क्षेत्रबाट आएर जमेका फोहोर पानी स्थानीयहरुको घरसम्म पसेको हो ।

पोखरीमा जमेको फोहोर पानी घरको बरन्डासम्म पसेपछि सर्वसाधारणले सास्ती व्यहोरी रहेका छन् । पोखरीको पानी घर छेउको बाटोमा जमेपछि त्यस बस्तीका सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई भएको छ ।

पोखरीको उचित ब्यबस्थापन र पानीको निकास नहुँदा वर्षाको पानी पोखरीमा जम्ने गरेका छन् । बजार क्षेत्रका जम्मै फोहोरहरु यस पोखरीमै बगेर आउँदा पोखरीको फोहोर स्वास्थ्यको दृष्टिले साह्रै विभत्स देखिन्छ ।

पोखरीलाई व्यवस्थित गरेर बस्तीलाई जलमग्न हुनबाट बचाउन नगर नेतृत्वलाई पटक–पटक गुहार गरेपनि सडक नाला निर्माण र सरसफाईमा कुनै तदारुकता नदेखाएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
वर्षाको पानी समेत आसपासका कतिपयको घर तथा पसलहरुमा पसेपनि मिर्चैयाका जनप्रतिनिधिहरु बेखबर झैँ गरेको सर्वसाधारणले गुनासो सुनाउँछन् ।

नगरपालिकाले केहि वर्षअघि नाला निर्माणका लागि लाखौं खर्चिएपनि हालसम्म भने निर्माण हुन सकेको छैन । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डाखुल्डीहरु अधुरै रहँदा जताततै पानी जमेको छ ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन हुन नसक्दा समान्य वर्षा हुँदा पनि सडकमै पानी जम्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…