सिरहामा नशा खुवाएर महिलालाई बलात्कार, तीनदिनदेखि महिला बेहोस !
पीडित महिला अझै होसमा आउन नसकेका कारण दोषीका विषयमा केही खुल्न नसकेको : डीएसपी थापा

२०७५ भदौ ९ शनिबार, बिहान ९:४३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो |
सिरहा, ९ भदौ । नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका–३ अस्पताल चोकस्थित माँ तारा लजमा एक महिला बलात्कारको सिकार भएकी हुन् । भनेर अन्नपूर्ण दैनिक अनलाईनमा समाचार छ ।
पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाइएको छ । बलात्कारपछि महिलालाई लजमै छाडेर घटनामा संलग्न दोषी भागेका थिए ।
ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगत्तै घटनास्थल पुगेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
लहान अस्पतालमा उपचार सम्भव नभएपछि पीडित महिलालाई धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले जानकारी दिए ।धरानमा उनको उपचार भइरहेको डीएसपी थापाको भनाइ छ । उनका अनुसार घटना बिहीबार साँझकै भए पनि अहिलेसम्म पीडित महिला बेहोस छिन् ।
सप्तरीको तेरहौता घर भएकी अन्दाजी ३५ वर्षकी यी महिला विवाहित रहेको जनाइएको छ । मदिरासहित अन्य नशालु पदार्थ खुवाएर उनलाई बलात्कार गरिएको अनुमान चिकित्सकले गरेका छन् । कुन नशाले लठ्ठ परेको कुरा खुल्न नसकेपछि उपचारमा समस्या भएकाले धरान पठाइएको लहान अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार अस्पताल ल्याउनेबित्तिकै ती महिलाले वान्ता गरेकी थिइन् ।
पीडित महिला अझै होसमा आउन नसकेका कारण दोषीका विषयमा केही खुल्न नसकेको डीएसपी थापाले बताए । ‘पीडित महिला होसमा आउनेबित्तिकै बलात्कार गर्ने व्यक्तिको नाम खुल्छ’, उनले भने, ‘त्यसपछि आरोपितलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…