साउदीमा गुन्जियो “जय सिता राम”, मिथिला संस्कृति समाजको अष्टयाम सम्पन्न
यस प्रकारका कार्यक्रमले आपसी भाइचाराको राम्रो विकास हुनुका साथै आफ्नो धर्म, संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण टेवा पुग्ने गरेको बताइन्छ ।

२०७५ भदौ ७ बिहीबार, बिहान ११:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
साउदी अरब, ७ भदौ । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहनुभएका मधेशी मुलका नेपालीहरुले भव्य तरिकाले अष्टयाम कार्यक्रम सम्पन्न गरेको छ । साउदी अरबको रियादस्थित रहेका नेपालीहरुद्धारा नव गठित मिथिला संस्कृति समाजले विगतका वर्ष झैं यस वर्ष पनि हर्ष उल्लासका साथ धुमधामले मंगलबारदेखि सुभारम्भ गरेको २४ घण्टे अष्टयाम कार्यक्रम बुधवार सम्पन्न गरको हो ।

नेपालबाट गएका नेपाली समुदायहरुले विदेशी भुमीमा पनि आफ्नो धर्म, संस्कृतिलाई जीवित राख्न हरेक वर्ष झैं यस वर्षपनि भव्यताका साथ अष्टयाम कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहनुभएका साउदी अरबका निमित्त नेपाली राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले प्रवासमा आफ्नो संस्कृतिलाई जीवित राख्न यस्ता कार्यक्रम गर्नु गौरव र खुशिको कुरा भएको बताउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मिथिला संस्कृति समाजका अध्यक्ष जितेन्द्र साहको सभापतित्वमा सम्पन्न भएको अष्टयाम कार्यक्रममा उपस्थित सम्पूर्णलाई टिसर्ट प्रदान गरिनुका साथै सम्मान–पत्र सहित सम्मान समेत गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा साउदीस्थित नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउत रहनुभएको थियो भने समाजमा आवद्ध तथा रियादस्थित रहेका अन्य संस्थासँग आवद्ध नेपालीहरुको विशेष आतिथ्य रहेको थियो ।
अष्टयाम पश्चात् भव्य रात्री भोजको प्रवन्ध समेत गरिएको र भव्यताका साथ अष्टयाम सु–सम्पन्न गरिएको समाजले जनाएको छ । अष्टयाममा मौसमले पनि उत्तिकै साथ दिएको थियो ।

यस प्रकारका कार्यक्रमले आपसी भाइचाराको राम्रो विकास हुनुका साथै आफ्नो धर्म, संस्कृतिलाई जीवित राख्न महत्वपूर्ण टेवा पुग्ने गरेको बताइन्छ ।
कडा कानुनी व्यवस्था भएको अरब मुलुकमा विभिन्न अवरोध खेप्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउन विभिन्न कार्यक्रम गरिनुलाई त्यहाँका नेपाली समुदायले सराहनीय कदम मान्ने गरेका छन् ।

अष्टयाम कार्यक्रमलाई सफल बनाउनका निमित्त उपस्थित भई सहयोग पुर्याउने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेका थिए । अष्टयाम कार्यक्रममा करिब २ सय ५० जना बढी नेपालीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…