वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशनमा राष्ट्रिय उपाध्यक्ष पदका लागि बसन्त कुमार कुशवाहाले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी क्रम सङ्ख्या २ रहेको छ ।
जनमत पार्टीका संस्थापक सदस्यसमेत रहेका कुशवाहा पार्टीको संगठन विस्तार तथा विभिन्न राजनीतिक अभियानमा सक्रिय रहँदै आएका नेता हुन् । उनी यसअघि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा स्थायी समिति सदस्यको जिम्मेवारीमा समेत रहेका थिए ।
कुशवाहाका अनुसार गैरआवासीय मधेशी संघको अध्यक्ष रहँदा उनले ५२ देशमा संगठन विस्तार तथा करिब २ लाख सदस्यता वितरणको अभियानको नेतृत्व गरेका थिए । किसान आन्दोलन तथा कभरेज अभियानमा समेत उनले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
जनकपुरधाममा सम्पन्न जनमत पार्टीको पहिलो महाधिवेशनमा पनि प्रमुख नेतृत्वदायी भूमिकामा रहेका कुशवाहाले २०७९ को आम निर्वाचनमा झापादेखि कञ्चनपुरसम्म पार्टीको प्रचार–प्रसार अभियानको नेतृत्व गरेको बताएका छन् ।
त्यस्तै, नौलो गणतन्त्र अभियानअन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रीय संयोजकको जिम्मेवारी सम्हालेको तथा २०८२ को संघीय निर्वाचनमा झापादेखि कञ्चनपुरसम्म प्रचार–प्रसार अभियान सञ्चालन गर्नुका साथै प्रत्यक्षतर्फका उम्मेदवारलाई प्रचार–प्रसार सामग्री उपलब्ध गराउने कार्यको नेतृत्व गरेको उनको दाबी छ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन आयोजनाका लागि गठित समितिमा कुशवाहा केन्द्रीय संयोजकको भूमिकामा समेत रहेका थिए । उनी मधेश प्रदेश सरकारमा तीन पटक मन्त्रीसमेत भइसकेका छन् । यद्यपि, प्रत्येक पटक छोटो समयमै सरकारबाट बाहिरिनुपरेको उनको भनाइ छ ।
मन्त्रीका रूपमा रहँदा मलखाद व्यवस्थापन, किसान कार्ड कार्यान्वयन, उद्योग तथा व्यवसायको डिजिटल दर्ता र १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहितको बजेट निर्माणलगायत काममा आफूले अनुभव हासिल गरेको कुशवाहाले बताएका छन् ।
आफ्नो उम्मेदवारीसँगै कुशवाहाले पार्टीमा स्वराज, राजनीतिक स्थायित्व, सशक्त नेतृत्व, आन्तरिक लोकतन्त्र र सामूहिक सहकार्यलाई संस्थागत गर्ने लक्ष्य अघि सारेका छन् ।
कृषिमा आमूल परिवर्तनका लागि अभियान सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, पर्यटन तथा सामाजिक विकासका क्षेत्रमा स्पष्ट कार्यदिशा निर्माण गर्ने उनको योजना छ ।
त्यस्तै, लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय तथा जलवायु परिवर्तनका मुद्दामा पार्टीलाई थप सशक्त बनाउने र जनमत पार्टीभित्र लिडरशिप एकेडेमी स्थापना गरी नेता तथा कार्यकर्तालाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिने लक्ष्य पनि उनले सार्वजनिक गरेका छन् ।
जनमत पार्टीलाई तराई–मधेशको पहिलो पार्टी तथा राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनाउने अभियानमा आफ्नो भूमिका महत्वपूर्ण हुने कुशवाहाको दाबी छ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन यही शनिबार वीरगञ्जमा हुँदैछ । महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले विभिन्न पदका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी र एजेन्डा सार्वजनिक गरिरहेका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार कुशवाहाले महाधिवेशनमा सक्रिय सहभागिता जनाउन तथा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न पार्टीका प्रतिनिधिसमक्ष अपिल गरेका छन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ असोज १४ बुधबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


