न्यूज ब्यूरो, भारत । भारतको असमस्थित गुवाहाटीमा होमस्टेमा २२ वर्षीया छात्राको संदिग्ध अवस्थामा मृत्यु भएपछि प्रहरीले उनीसँगै बसेका २६ वर्षीय आसिफ अलीलाई पक्राउ गरेको छ। मृतक गुवाहाटी विश्वविद्यालयमा समाजशास्त्र विषय
न्यूज ब्यूरो, भारत । भारतको असमस्थित गुवाहाटीमा होमस्टेमा २२ वर्षीया छात्राको संदिग्ध अवस्थामा मृत्यु भएपछि प्रहरीले उनीसँगै बसेका २६ वर्षीय आसिफ अलीलाई पक्राउ गरेको छ। मृतक गुवाहाटी विश्वविद्यालयमा समाजशास्त्र विषय अध्ययनरत तथा धरापुर निवासी निमिषा ठाकुरिया हुन्।
प्रहरीका अनुसार आजारा क्षेत्रको एक होमस्टेमा शनिबार बिहान निमिषा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई स्थानीय स्वास्थ्य केन्द्र हुँदै गुवाहाटी मेडिकल कलेज तथा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले पक्राउ गरेका आसिफले प्रारम्भिक बयानमा निमिषा आफ्नी प्रेमिका रहेको र उनले आत्महत्या गरेको दाबी गरेको जनाएको छ। तर गुवाहाटी पश्चिमका डीसीपी बोलिन देओरीले आरोपीको बयानलाई मात्रै आधार मानेर निष्कर्षमा पुग्न नसकिने बताएका छन्। प्रहरीले घटनालाई सम्भावित हत्यासहित विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा शरीर वा भुइँमा रगतको निशान फेला परेको छैन। होमस्टे सञ्चालक, केयरटेकर तथा अन्य कर्मचारीसँग पनि सोधपुछ भइरहेको छ।
होमस्टेका रसोइया तथा केयरटेकर बिपुल बाइलुङका अनुसार राति उनले एक पुरुष चिच्याएको आवाज सुनेका थिए। त्यसपछि कर्मचारीलाई सतर्क गराइएको थियो। केही समयपछि एउटा कोठाबाट रोएको आवाज आएपछि उनीहरू त्यहाँ पुगेका थिए। केयरटेकरका अनुसार त्यहाँ युवकले युवतीको शरीर समातेको अवस्थामा थियो भने युवती भुइँमा लडेकी थिइन्। त्यसपछि होमस्टे सञ्चालकलाई खबर गरी एम्बुलेन्स बोलाइएको थियो।
परिवारका परिचित गौतम दासका अनुसार निमिषा शुक्रबार साँझ घरबाट साथीको घरमा खानपिन गर्न जाने भन्दै निस्किएकी थिइन्। राति आमासँग फोनमा कुराकानीसमेत भएको थियो।
परिवारका अनुसार राति करिब २ बजे निमिषाले आमालाई फोन गर्दा उनी रोइरहेकी थिइन् र आफूलाई ‘उनीहरूले मार्नेछन्’ भनेकी थिइन्। त्यसपछि उनको फोन सम्पर्क विच्छेद भएको थियो। घटनाबारे परिवारले आजारा प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी थालेको थियो।
घटनापछि शनिबार बिहान होमस्टे आसपास स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले राष्ट्रिय राजमार्ग–१७ अवरुद्ध गर्दै घटनामा संलग्नलाई कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका थिए। केही प्रदर्शनकारीले ‘लभ जिहाद’ उल्लेख भएका पोस्टरसमेत बोकेका थिए। प्रहरीले घटनास्थलमा पुगेर सडक खुलाउन आग्रह गरेपछि अवरुद्ध सडक खुलेको थियो।
निमिषा हिन्दू र पक्राउ परेका आसिफ मुस्लिम भएको विवरण सार्वजनिक भएपछि केही प्रदर्शनकारीले घटनालाई ‘लभ जिहाद’सँग जोडेर आरोप लगाएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यद्यपि, प्रहरीले अहिलेसम्म घटनालाई ‘लभ जिहाद’का रूपमा पुष्टि गरेको छैन र मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट, घटनास्थलबाट संकलित प्रमाण, सीसीटीभी फुटेज तथा आरोपीसँगको बयानका आधारमा अनुसन्धान अघि बढाइरहेको छ। निमिषाको मृत्यु हत्या, आत्महत्या वा अन्य कारणबाट भएको हो भन्ने विषय अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।