न्यूज ब्यूरो, जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामस्वरूप रामसागर (राराब) बहुमुखी क्याम्पस, जनकपुरधामले क्याम्पसको साख गिराउने उद्देश्यले भ्रामक, तथ्यहीन तथा दुराशयपूर्ण प्रचारप्रसार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्याम्पस प्रशासनले विहिबार ध्यानाकर्षण पत्र जारी गर्दै केही भूतपूर्व विद्यार्थी नेता तथा गैरजिम्मेवार व्यक्तिहरूले तथ्यलाई बङ्ग्याएर क्याम्पसविरुद्ध दुष्प्रचार गरिरहेको दाबी गरेको हो ।
क्याम्पस प्रशासनले त्यस्ता प्रचारबाट भ्रमित नहुन विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
प्रशासनले क्याम्पसको प्रशासनिक भवन निर्माणका क्रममा ठेकेदारले आयकर कट्टी गरी आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रयोजनका लागि क्याम्पसको लेखा शाखाबाट कागजात बुझेको जनाएको छ ।
तर, आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर्मचारीले क्याम्पसको वर्षभरिको टीडीएससम्बन्धी गोप्य कागजात उपलब्ध गराएको र उक्त कागजात पूर्वस्ववियु पदाधिकारीहरूसँग मिलेर विभिन्न स्थानमा देखाउँदै क्याम्पसको वातावरण बिगार्ने प्रयास भएको क्याम्पस प्रशासनको आरोप छ ।


क्याम्पस प्रशासनले विगतमा केही कर्मचारीसँग मिलेमतो गरी आर्थिक लाभ लिँदै आएका भनिएका व्यक्तिहरू क्याम्पसमा प्रशासनिक सुधार र पारदर्शिता सुरु भएपछि त्यसको विरोधमा उत्रिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तै, क्याम्पसले सवारी तथा भ्रमण खर्चसम्बन्धी प्रचारप्रति पनि स्पष्टीकरण दिएको छ । ‘आरती किराना तथा कस्मेटिक्स’को नाममा रहेको स्थायी लेखा नम्बरबाट सञ्चालित ‘आरती ट्राभलर्स एण्ड टुर्स’मार्फत शैक्षिक तथा औद्योगिक भ्रमणका लागि सवारी साधन प्रयोग गरिएको र नियमअनुसार भुक्तानी गरिएको क्याम्पसको भनाइ छ ।
तर, उक्त खर्चलाई चामल तथा ब्युटीपार्लरमा खर्च गरिएको भन्दै सामाजिक सञ्जाल तथा युट्युबमार्फत गलत प्रचार गरिएको प्रशासनले जनाएको छ ।
त्यसैगरी, ‘पटेल अण्डा स्टोर’को नाममा दर्ता रहेको पान बिलकर्ताबाट सञ्चालित ‘पटेल होटल’मा क्याम्पसमा हुने विभिन्न परीक्षा, अनुगमन, बाह्य परीक्षक, छानबिन समितिका पदाधिकारी तथा अतिथिहरूका लागि खाजाको व्यवस्था गरिएको क्याम्पसले स्पष्ट पारेको छ ।
सोही प्रयोजनमा भएको भुक्तानीलाई अण्डा खरिदमा मात्रै खर्च गरिएको भन्दै गलत सूचना फैलाइएको क्याम्पसको दाबी छ ।
क्याम्पसमा प्रयोगात्मक परीक्षा, आन्तरिक तथा बाह्य लेखापरीक्षण, अन्तरक्रिया, स्वागत तथा बिदाइ कार्यक्रम, खेलकुद र गोष्ठीलगायत नियमित शैक्षिक गतिविधिमा नियमानुसार चिया–खाजाको खर्च हुने गरेको प्रशासनले जनाएको छ ।
क्याम्पसले एलएलबी कार्यक्रम सञ्चालन, दुईवटा ठूला भवन निर्माण, प्रयोगशाला विस्तार, तीव्र गतिको इन्टरनेट तथा सीसीटीभी जडानलगायतका काम भइरहेको जानकारीसमेत दिएको छ ।
क्याम्पस प्रशासनले तथ्यहीन तथा भ्रामक प्रचारको पछाडि नलाग्न आग्रह गर्दै क्याम्पसको शैक्षिक विकास र प्रशासनिक सुधारका लागि विद्यार्थी, अभिभावक, सामाजिक अगुवा, नागरिक समाज तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।
प्रशासनले विज्ञप्तिमार्फत उठाइएका विषयमा आवश्यक परे सम्बन्धित कागजात तथा तथ्यका आधारमा स्पष्ट पार्न सकिने जनाएको छ ।
धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान
- २०८३ असोज ९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख
पूरा पढ्नुहोस्





